हिउँ खोला र जिन्दगी


नरेश सुनुवार, हङकङ

पहाडैपहाडको
उच्च टाकुरा ढुङ्गैढुङ्गा
बादलजस्तै
केशले छोपिएको थाप्लोमा
हिउँहरू जमेर गिदी सेतै
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ
पग्लेर बिस्तारै
बिस्तारै पग्लेर
रूपान्तरणको प्रक्रियामा
एउटा बाटो बन्दछ सतह
र निरन्तर बग्दछ पानी अनन्त यात्रामा,

चिसो त्यो पानी
स्वच्छ त्यो पानी
बग्दछ खोला बनेर
झर्दछ झरना बनेर
मिसिदैमिसिदैं खोलाहरू
नदी बनेर
तय हुन्छ अविरल यात्रा
जहाँ उसले रोकिनु नपरोस्,

कुँदेर पत्थरैपत्थरको बाटो
तेही पत्थरको सानो अंश बालुवा
बगरैबगर
हिँडिरहेछ
बगिरहेछ
खोला, नदी, समुन्द्र
लस्करै
युगदेखि युगसम्म
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,

स्वच्छ हिउँ
पग्लेर सफा पानी
झर्दछ अलि तल
अलि दुषित हुन्छ
अझै झर्दछ तल
झनै दुषित हुन्छ
जीवनका हरेक कोषिका चाटेर
जब निस्कन्छ पानी सतहमा
र, जम्दछ विशाल समुन्द्र
नुनिलोजस्तै पिसाब
नुनिलोजस्तै पसिना
नुनिलो समुन्द्र नुनजस्तो
गन्हाउँछ हृवास्स गन्ध
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,

बग्दैबग्दै गिदी खोला
बग्दैबग्दै गिदी नदी
ठोकिँदैठोकिँदै
ढुङ्गासँग
बगरसँग
किनारासँग
पैदा हुन्छ आक्रोशको आवाज
घर्षणको नारा
र, उत्पन्न हुन्छ छाल
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ

हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ
अर्को रुपान्तरणका निम्ति
सतहमा समुन्द्र ढाकिएर
हेर्दछ बगर
हेर्दछ किनार
किन निर्जीव छ बगर -
किन निर्जीव छ किनार -
हान्दछ बाफले सास भर्नका निम्ति
हान्दछ छालले व्युताउनका निम्ति
तर बगर निर्जीव छ
शून्य छ
निर्जन छ,

पहाड
हिउँ
भत्किन्छ बरफका डिस्काहरू
लाछिएर आँखा तिर्मिराउछ
गुन्जीएर कान ताछिन्छ
घस्रेर शरिर कम्पन्छ
उम्लिन्छ रगत
र, जो पानी पर्दछ बादल गर्जिएर
झरना, खोला, खहरे नदी
हाम फाल्दछ उधै उधा,
तात्तिएर घामका धारिलो रापमा
समुन्द्र उठ्दछ आकाश तिर
जो तैरिन्छ पानी माथि बाफ
र, बादल हुँदै क्षितिज
ठोकिन्छ चिसो पहाड
पानी जम्दछ पुनः वरफ
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,

छालको प्रत्येक झापटले
अर्को रूपान्तरण जन्माउछ गिदि
ब्यूँतन्छ बगर
सल्बलाउँछ किनार
उठ्दछन् ढुङ्गा घरैघर
उठ्दछन् किनार शहरैशहर
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,

गिदी बरफ
गिदी पानी
गिदी घाम
गिदी बादल
गिदी बर्षा
गिदी वायु
गिदी आकाश
गिदी ब्रम्हाण्ड,

पहाडैपहाडको
उच्च टाकुरा ढुङ्गैढुङ्गा
बादलजस्तै
केशले छोपिएको थाप्लोमा
हिउँहरू जमेर गिदी सेतै
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ
पग्लेर बिस्तारै
बिस्तारै पग्लेर
रूपान्तरणको प्रक्रियामा
एउटा बाटो बन्दछ सतह
र निरन्तर बग्दछ पानी अनन्त यात्रामा ।

कविताकृति- जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, कवितानम्बर- ११)

हङकङ

No comments: