बुद्धको देशमा युद्ध


दिलिप योन्जन

बहुदलको घोषणा
नब दुलही झै
ओल्लो सडक तल्लो चोक
वारीको बस्ति र पारीको छितिज
तिर मिर....... तिर मिर... मान्छेको आकृति
शहिदको सालिकहरुले
एक तमास हेरी रहे..... हेरी रहे......
बहुदलिय ब्यबस्या जिन्दाबाद
सहिदको सपना साकार पार्छौ
एकै स्वरमा ....... सुगा झै
कमिलाको ताती
गुड भत्काएर खेदे झै
हात भरी- भरी झन्डा
मुख भरी-भरी जिन्दाबाद........ मुर्दाबाद........
चोक चर्किए............. गल्लि हल्लिए..............
मिरमिरेमा मान्छे तर्सिए
डोको भरी अदुवा र खुर्सानी
तोक्मामा भारी अडाएर भरीया
चुपचाप - चुपचाप हेरिरहन्छ
जिन्दावाद र मुर्दावादको मलामी।

छितिज उघियो मिर-मिराउदै
कठोर रात अन्त्यको घोषणा
शहिदको सपना संकल्प
बर्षौ-बर्ष जेलका नेता
भाले झै डाकमा बस्न थाले
कोरा सपना देखाउदै जनतालाई
तछाड... मछाड.... भाषण
बिजयमा रङिने अबिरले
मान्छे र राछेस चिनेन
त्यो भिडमा....... त्यो हुलमा.......
राजनीति माथि राजनीति
गुठबन्दी, नातबाद-किर्पावाद
न गरिबी..............
न शिक्षा ....................
न रोजगार..................
खुलेआम कुर्लेकोछ
न टुपा न गाठो
बर्षौ-बर्ष भोकाएका
गिद्ध र श्याल झै।

बिधुवा ती शहिद
बालक ती शहिद
आश्वासन र भाषण
तछाड मछाड पार्टी-पार्टीको
आजा नि यस्तै छ हिजो जस्तै
राष्ट्र प्रेमी नेता
नातावाद र भ्रष्टाचार
नुनको भाउ सुन
बिरोध सडक सदन
बारुद गनाए....... मान्छे हराए........
बिद्रोहमा......... हतियार उठाए
कहिले सेना, पुलिस ........... कहिले बिद्रोही...........
कहिले बिद्रोही ........कहिले सेना, पुलिस ..........
देशले राष्ट्र सेवक, सपुत गुमाए
दिउँसै डर.... त्रास..... भय......
शान्ति छेत्र नेपाल
कतै बम कतै गोली
रुकोछन् कराकाछन्
बुद्धको देशमा युद्ध
मानब अधिकारको ढुवाङ्
कानुनका ठुला- ठुला ठेली
देशमा रगतको होली
भाईले दाजु ..... दाजुले भाइ......
बहिनीले दिदी........ दिदीले बहिनी.........
कतिन्जेल.....? कहिलेसम्म........?

अस्टिन, अमेरिका

बन्धकी जिबन


मुकेश राई

बन्धकी पर्‍यो जिबन मेरो दिल दिएर सारा
धरतीमा फुल्दोरहेछ फुलहरु जत्ती आकाशमा तारा

सिरसिरे बतास मन्द मन्द गोधुली सांझैमा
सजाएको छु तस्वीर तिम्रो यो दिलको माझैमा
मनको अंधेरीमा चोखो प्रितको दिप जलाई
तिम्रो माया बाहेक अरु केही मोह छैन मलाई

रंगीचंगी फुलहरु हाँसे बसन्तको बेला
तिमीसँग लाग्छ जीबन संधै रमाइलो मेला
मदहोश बनी म त तिमीलाई खोजीरहन्छु
सपनीमा पनि हरपल तिम्रै साथ रहन्छु

ईलाम हाल बेलायत

जब मुटु दुःख्छ


भानेन्द्रकुमार सम्बाहाम्फे

खै के भनी सम्बोधन गरुँ !
म तिमिलाई ?
'मेरी प्रियतमा' भनुँ भने
गाली पो मिल्ने हो कि !
मायाले रसिएका
प्रितिले कसिएका
स्नेहले भरिएका
सुन्दर अनि नशालु
ती तिम्रा नयनहरु
मतिर प्रश्न गरिरहेछन् झैं लाग्छ
'के तिमी मलाई माया गर्र्छौ ?'
'के तिमीलाई शरम लाग्दैन ?'
'के तिमीले आफ्नो उमेर बिर्स्यौ ?'
खै के भनी सम्बोधन गरुँ !
म तिमिलाई ?
'मेरी प्रेयसी' भनुँ भने
कतै तिमीप्रति अन्याय पो हुने हो कि !
तर,
खुलस्त ती तिम्रा अभिव्यक्तिहरु
सत्य बोलिरहेछन् इमान्दारीका साथ
माया बिक्ने चिज होइन
बगरेको पसलमा
खसीको मासु किलो-किलोमा बिके झैं,
अनि होइन खेलौना पनि
जतिखेर मन लाग्यो खेल्यो
नयाँ र सुन्दर अर्को पाउँदा
मिल्काउने अर्थहीन पुरानो वस्तु
सम्झेर डस्बिनमा ।
गहभरी आँशु
मनभरी चाहना
भनुँ म कसरी तिमीलाई ?
मेरा मनका वेदना !
समय धेरै गुज्रिएछ
तर यो मन सुध्रिएन
चाहना अपुरो छ
जीवनलाई माया पुगेन ।
बिन्ती गर्छु तिमीसंग
मलाई गलत नसम्झ
म माया गर्छु तिमीलाई ।
मलाई थाह छ
हाम्रो उमेर मिल्दैन
तर
भावनाको उमेर पनि त हुँदैन ।
माया भनेको
सुन्दर भावना हो
काँडामाझ गुलाफ झैं
फुलिदिने ढक्कमक्क भएर
बेपर्वाह,
सुन्दर मनको बगैंचामा ।
सम्झाउँ म कसरी आफूलाई !
धेरै पटक
प्रयाश गरें एकान्तमा
तर यो मन
पटक्कै मान्दैन
उसलाई माया चाहिएको छ
ऊ पवित्र मायाको भोको छ ।
मायाप्राप्तिको मृगतृष्णा लिएर
मायाको सागरमा
भौंतारिरहेको छ आशावादी बनेर ।
स्वीकार गर या नगर
मलाई तिमी
प्यारी लाग्छ्यौ
आफ्नै लाग्छ्यौ
तिमी मात्र मेरी
स्वप्न सुन्दरी
स्वर्गकी परी
मनको अँध्यारो फटाउने
मात्र मेरी जुनकिरी ।
तिमीलाई पाउन म
मस्त जवान
महसुस् गर्दैछु,
शायद म ति म्रो मायामा
अन्धो भएको छु ।
तर
मलाई गर्व छ
किनभने
अलिकति भए पनि
हिउँ झैं कञ्चन
माया पाएको छु तिमीबाट ।
माया अमृत रहेछ !
चोखो माया पाए
स्वर्ग
धर्तीमा नै पाइनेरहेछ
जीवन
अजर-अमर बन्नेरहेछ ।
माया शक्ति रहेछ !
साँचो माया पाए
कस्तै आपदविपद पनि
सामान्य लाग्नेरहेछ
काँडैकाँडाको बाटो पनि
मलमल बिछ्याए झैं लाग्नेरहेछ ।
त्यसैले त म-
चोखो माया खोजिरहेछु
मुस्कानले युक्त
ती ति म्रा सुन्दर अधरहरुमा
निश्वार्थ माया चाहिरहेछु
मायाकी देवी तिमीबाट ।
किनकि-
मैंले धर्तीमा
'स्वर्ग' ल्याउनुछ
अजर-अमर जीवन बाँच्नुछ
आपत्विपत्का ज्वालामुखीमाथि
विजय प्राप्त गर्नुछ
यसर्थ मलाई
मायारुपी शक्तिको खाँचो छ ।
अन्यथा नसोच तिमी
यी त मेरा
अतृप्त मनका चाहनाहरु हुन्
प्रकट् हुनेगर्छन् कहिलेकाहीं
तँछाड्मछाड् गर्दै
साँघुरा गल्लीहरुमा मनका
जब मुटु दुःख्छ ।
आज-
मेरो मेरो मुटु
बेजोड्ले दुखेको छ
मैंले भोगे जस्तै
मैंले देखे जस्तै विगतमा
जब
मैंले ती ति म्रा निश्चल, निश्पाप
आँखाहरुमा, शब्दहरुमा
माया शंकटमा परेको पाएँ
त्यसैले-
यो हृदय फेरि भक्कानियो
यो मनमा
लाखौं तरङ्गहरु उठेका छन्
अशान्त मनका
यिनै तरङ्गहरु हुन्
यी मेरा भावनाहरु
जन्मन्छन् मनका भित्री पत्रहरुमा
अनायशै
जब-जब मुटु बेस्सरी दुःख्छ ।
२०६५/०९/०८
काठमाण्डौ ।

तर हिमाल सकिन्दैन


डी.वी. पालुङ्वा

म अविश्वासको पृष्ठपोषक
किमार्थ बन्न सक्दिन
तर मलाई हिमाल हिंडेको थाहा छैन
पहाड सरेको थाहा छैन
त्यसैले तरार्इ पनि हिड्दैन र सर्दैन पनि
अत : म हिमाल पहाड तरार्इका फांटहरुमा
आदीम् सभ्यता संगसंगै आजको यस घडी र पल्लामा उत्रिएर
विश्वासको वस्तीहरुमा ठम् ठम्ती हिड्न चाहान्छु ।

किनभने म यो धर्तिमा बिना उदेश्य आएको थिईन कि
मेरो आमाको बिलौनालाई धुलो चटाउनु
मेरो मौन स्वीकृती पट्टकै होईन
यहां एउटा माटोको कृतघ्नता बिर्षोर
पुन्य तिर्न नसक्ने निम्छरो छोरा म किन्चीत बन्न सक्दिन
र यो कोलाहल मसान्घाटमा
काङसोरेको प्रेतआत्म जगाएर
यो युगान्तकारी आन्दोलनको नारामा
समावेशी र समानुपातिकको खोंढा उध्याएर
भाग लिन
मैले यलम्बर संग कबुल गरेको थिईन
र फट्के किनारामा श्रीजंगालाई
साक्षी कहिल्यै राखिन
र राष्ट्रिय अखण्डतामा संप्रभुताको खातिर
अब एउटा आत्मआन्दोलनको चरम् उत्कर्षमा
आत्मनिर्णयको अधिकार सिद्धिदैन
यो सत्यबोधमा
हिमाल पग्लेर तमोर बगिरहन्छ
समग्रमा
हिमाल पग्लेर गंगोत्री सधैं बगिरहन्छ
तर हिमाल सकिन्दैन ।

हङकङ

सृष्टिको ढुकढुकी तिमी

हिमाल सुब्बा गुराँस

आफ्नो अंगालोभरि
सागरको पानी उठाएर
हिमाल पर्वतमा सबैतिर
तिमी वृष्टि गराउँछौ
फेरि
तिमी सागरमा पुग्छौ।
पृथ्वी झैं
पृथ्वी वरिपरि फन्को मार्र्छौ ।
कतै संयोग त
कतै तिमी वियोग गराउँछौ । गर्र्छौ
डाँडावारि खेल्दै
डाँडापारि विलय हुन्छौ ।
जब
तिम्रो विविध आकृतिभित्र हराउँछु ।
कतै आफू निर्मित
कतै विनिर्मित हुन्छु ।
निलो आकाश
तिमीले थामी राखेकोछौ ।
अनि
जीवन जगत सकलमा
तिम्रो रङ्ग छरिएको छ ।
तिमी छौ र त
जीवन जगत र यो सृष्टि छ ।
यसरी
सदा जीवन जगत
र सृष्टि तिमी थामी राख ।

चलाचुली - ३
अर्नाखाडी ,र्इलाम

तिम्रो ईमेल को जवाफमा


स्यानु पाईजा

हाम्रो देश तिमीले सुने जस्तो छैन
प्रमाणीत गर्न देश बोकेर
तिमी सामु ल्याउनु सक्दैन
तिमीले सुने जस्तो गरिबी
तिमीले देखे जस्तो असुरक्षित
तिमीले देखे जस्तै हाहाकार
तिमीलाई देखाए जस्तै अन्धकार
तिमीलाई देखाए जस्तै बेरोजगार
यो सतप्रतिशत होईन
हामीले देखेको सस्तो बजारको
सस्तो समाग्री मात्र हो
बिदेश गएकाहरु नफर्किउन
फर्कन चाहानेहरु तर्सिउन
भनेर केहि समुहले फैलाएको
बिज्ञापनको उपज मात्र हो
किन कि नेतालाई
निरक्षर बुढाबुढिको सामु
लाप्चे बटुलेर झुक्याउन सजिलो भएको छ
त्यसैले यो दिनको अन्त नहोस भनेर
यस्ता अपबाह फैलाएको मात्र हो
केहि अल्छीहरुलाई बियर खुबाएर
टायर बाल्नु लगाएको मात्र हो
मजदुरलाई मालिकको बिरूद्व
उक्साएको मात्र हो
केहिलाई नेताले अह्राएको मात्र हो
केहि ले नेतालाई रिस पोखेको मात्र हो
केहिले जनतालाई दु:ख दिएको मात्र हो
बिदेश छिर्नु मनलागेकाहरुले
आमा बाबुलाई झुक्काएको मात्र हो
किरयाको घरमा बिदेशको पैसाले
मस्ति गर्नेहरुले तिमीलाई नफर्क
भनेको मात्र हो
किन कि कोहि त छन यहाँ
जो सन्जिबनी पेलेरै भए पनि
डिजेलको बिकल्प खोज्ने पनि छन
बनमारा झारको ईन्धनले
ग्याँसको बिकल्प हताउने हरु पनि छन
खोज्ने हो भने ओझेलमा
अरू कति प्रेरेकहरु पनि होलान
तिमीले सुने जस्तो छैन मेरो देश
उब्जायौ भने हामीलाई बढीहुने
खोरियाहरु बाँझो छन यहा
प्रकृतिका अनमोल उपहारहरु
चलाएका छैनौ हामीले
किन कि हामी अझै पनि
ऋण बोकेर जागीर खोज्छौ
बिदेश पुगेर देशभक्तीको कबिता लेख्छौ
खोरिया बेचेर घडेरी किन्छौ
अनी देश मा शान्ती छैन भनेर
उतै बस्ने बाहाना खोज्छौ
किन कि हामीलाई आफ्नो भन्दा
पराई प्यारो लाग्दै छ
साच्चै तिमी ले सुने जस्तो छैन हाम्रो देश
सतहको कुरा अलग होला
हामीले मायाले हेर्यो भने
तिमीले देखे जस्तो छैन
तिमीले सुने जस्तो छैन
हाम्रो देश को भबिष्य

पात्लेखेत-७, म्याग्दी

गजल


बसन्त मोहन अधिकारी

जसको लागी बाँच्थे मर्थे उहि आज परार्इ भयो ।
उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो ।

उनको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागवती खुवाई भयो ।

गाँउमा हल्ला फिजाएर बदनाम गरार्इ छाड्यौं
जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो ।

सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँ माँझ
चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो ।

लिएर दोष, बदनामी मैले मात्र जिउँनु पर्यो
आज जिउँन नसकेर जीवन आगोलाई भयो ।

मानव शत्रु

गोविन्द घिमिरे 'वेदमणि'

प्राणीकै अवसान खोज्छ त्यसले त्यो जीवकै शत्रु हो
भेट्दा मित्र बनेर घुस्छ पहिले आनन्दले भित्र त्यो ।
घुस्दै जीवनचक्र बन्छ त्यसको बढ्छन् हजारौं गुणा
हुन्छन् शत्रु अचम्भको नचिनिने हुन् बीखका ती फणा ।।

देखिन्नन् सजिलै खुला नयनले सर्वत्र बस्दा पनि
टेलिस्कोप सिवाय हेर्न कसले सक्दैन त्यो जीवनी ।
उम्लेको जल वा विकीरणहरु यी शत्रुका शत्रु हुन्
आगो,औषधिका विषाणु अथवा यी जीवका शस्त्र छन् ।।

यी पस्छन् कमजोर अङ्गहरुको बाटो गरी देहमा
निस्कन्नन् तर लड्दछन् शरीरमा फैलेर सम्पूर्णमा ।
मारिन्नन् यदि, सर्दछन् सबतिरै सन्त्राश पारीकन
हाहाकार बनाउँछन् सबजना मार्छन् अनेकौं जन ।।

काट्दैनन् हतियार धार कहिल्यै गोली न ती छेड्दछन्
जानेछन् बम खेर भैकन यहाँ सूक्ष्मातिसूक्ष्मादिछन् ।
छोइन्नन् अझ मन्त्रले जति फुकी गर्दा यहाँ वास्तव
हो यो सूक्ष्म तथापि धेर बलको हारेर जान्छन् सब ।।

देखेको पर शत्रुबाट कहिले डर्दैन मान्छे त्यति
लेखेको पनि बुझछ मानिस यहाँ तर्सन्न कैले अति ।
त्यो भन्दा अनदेखका रिपुहरु जीवाणु कीटाणुले
मान्छेलाइ हराउँछन् घरिघरी यै भन्छ विज्ञानले ।।

दुर्गन्धी स्थलमा सदैव यिनको हुन्छन् बसोवासनै
बासी खाद्य, सडालु चीज सबमा यी नाच्दछन् धेर नै ।
जो हुन्छन् अनजान शत्रु यसमा ती ढल्दछन् वीरनै
जो टाढा यसबाट हुन्छ सजिलै त्यो जित्छ संग्राम नै ।।

यस्तो शत्रु चिनेर काम गरिनु हो बुद्धिमानी पनि
टाढा संगतमा बसेर यिनको कल्याण होला, भनी ।
भन्छन् डाक्टर बैद्य प्रेमसितले मान्दा यिनै शत्रुले
गर्दैनन् कहिले नि आक्रमणनै यी सूक्ष्म जीवाणुले ।।

गजल


भूपेन्द्र महत

हात सेक्नु तिमी कतै म बलिछु भने
मुढा भनी टेक्नु कतै म ढलिछु भने

रातमा निद छैन बातमा तुक छैन
आश्चर्य नमान्नु बेहोसिमा चलिछु भने

काँडाका झिँजा सफा भएकै जाती होला
न नीभाउनु भैगो कतै जलिछु भने

नजर झुकाएर हिडन नपर्ला म सित
ठीक्क भो भन्नु थलिएर गलीछु भने

मानसिक सन्तुलनको के भर भो र
कठै!नभन्नु भो रुखमा फलिछु भने

गजल

केशब आचार्य

तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ
प्यास मेरो ह्रीदयको फेरी किन जाग्दैछ ।

बिछोडका घाऊहरु आलै छन छात्तिभित्र
जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

जत्ती भुलौ भन्दा पनि याद ताजा भै दिन्छ
माया मेरो फेरी किन तिम्रो पछी भाग्दैछ ।

केही थियो सीमा रेखा कोरिएको हामीबिच
अनायस जिन्दगीले किन सिमाना नाघ्दैछ ।


(बोल्डर् कोलोराडो )

मताएर मलाई


राकेश कार्की

कर गरी मलाई नपिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी
सल्लाह लिन पो आएको आफ्नो ठानी
बिर्सन सकिन दिमागलाई नसाले हानी
प्यालामा प्याला नमिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी
बाधासंग लड्दै अझै कोशिश गर्नुछ
शक्ती बटुल्दै मलाई पक्कै जित्नुछ
बुँद बुँद थप्दै नडुबाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

लस् एन्जेलस्

साँझको बेला


दिलिप योन्जन

साँझको बेला लाग्यो नि मेला डबली बजारमा
पर्खिन्दी होली भिजाई आखा मिलनको आसमा।

घमाइलो पाखा चरीले गाउदा छुदोहो यादैले
सुन्सान रातमा परेली भिजाई रुदिहुन प्यासैले
साँझको बेला बाडुली लाग्दा खोज्दिहुन मलाई
तिम्रै मायामा बाच्याछु पल-पल रिदय जलाई।

गुरास फुल्दा उनेको माला सम्झन्छु झल्झली
जुनेली रातमा खाएको कसम छदैछ मनभरी
साँझको बेला अतितले पोल्दा मैरुन्छु धरधरी
झस्केर उठ्छु सपनी छुट्दा मैबाचु कसरी।

अस्टिन, अमेरिक

गजल


आचार्य प्रभा

अल्झिरैछु लहरामा सहारा तिम्रो हात देउ
बैँशालु झैं नशा चढोस् मिठो मलाई मात देउ।

सबैले सोध्छन मलाई,तिम्रो पहिचान के भनी ?
परिचय नै खुल्ने गरी स्थाइ बरु जात देउ ।

कती कांटु हरेक पल अनिदो भै तारा गनी
सपनिमा नै हराइरहुँ मिठो शुन्य रात देउ ।

धेरै आए आँखाहरु परेलिमा बास दिन्छु भनी
चाहिदैन मलाई अरु केही, तिम्रै अमिट साथ देउ ।

(बोल्डर कोलोराडो )

कटुसत्य


भानेन्द्रकुमार लिम्बू (सम्बाहाम्फे)

यहाँ जातीवाद हावी छ
ब्राहृमणवाद माथि छ
जसले जेभने पनि ।

कानूनका ठेलीमा
विभेद अन्त भए पनि
दुबो मौलाए झैं
मस्त मौलाएकै छ
ब्राहृमण एकात्मकवाद ।

यहाँ
नाकको राजनीति चलेकै छ
पीडित छन्
थेप्चा नाकहरु
सदियौंदेखि
उठ्नै नसक्नेगरी ।

२०६५/११/१०
काठमाण्डौ ।

विडम्बना !


भानेन्द्रकुमार लिम्बू (सम्बाहाम्फे)

यो धर्ती यो आकाश
किन किन अनौठो लाग्छ
कता कता के के नमिले जस्तो लाग्छ
अनि यो मन
नमिलेकोलाई ताछ्तुछ् गरेर
मिलाउन खोज्छ चिटिक्क पारेर
नमिलेका रङहरुलाई फालेर
सुन्दर र मिल्ने रङहरुले
चित्रकारले क्यानभासमा उतारे झैं
मनका रङीचङी रङहरुले
भित्री मनले चाहेको
सबैभन्दा सुन्दर
संसार कोर्न चाहन्छ
विडम्बना !
त्यस्तो संसार सजाउने
चाहेको रङ कहा“ छ
त्यो पनि थाह छ उसलाई
तर पाउन सक्दैन...
त्यसैले चित्र अधूरो छ
शायद अधूरै रहन्छ होला !
काकाकुलको पानी पिउने इच्छा झैं !!!

काठमाण्डौ ।
२०६५/०९/१५

पलासको फूल कुन हो ?


स्यानु पाईजा

साथीको बिहे बाट फर्के पछि
म कहि हराएको जस्तो भएको छु
मेरो सब्जी पसल हराएर
फूल पसल जस्तै भएको छ
जहाँ पनि नयाँ थप्नु नै पर्ने
मेरो साथीको नौलो नमुना बिवहा
वाह ! मलाई पनि नमुना नै लाग्यो
साच्चै परिबर्तनको थालनी लाग्यो
त्यहाँ कसैले महँगो ऊपहार दिएनन्
कसैले हनिमुन प्याकेज गिफ्ट गरेनन
सय जनामा एकले पनि कण्डम र
रोमान्टीक साहित्य उपहार गरेनन
सोमरस लेपन गरेको कुरा गरेनन
रयापर मा नबेरिएका फूलहरु
कसैलाई रयापरमा के होला कौटुहल भएन
मात्रै फूलहरु थिए उपहारमा
नगद थिएन, रूमाल थिएन , खादा थिएन
केही कृर्तिम फूलका बुकेट थिए
केहि गिफ्ट सप मा किनीएका बुकेटहरु
प्राय सबै बगैचाका फूलहरु नै थिए
पञ्चे बाजामा नाँचे मन खुलेर म पनि
एउटा नयाँ थालनी को खुसीमा
ऊपहारको नाममा पसेको नगद रोगले
मेरा दुई पुस्ता कुँजिएको बेला
एड्स उन्मुलनको खबर सुनेझै म खुसी छु
अब जन्मने सन्तानलाई यो बिमार सर्ने छैन
बिबाहाको भोज सकिए पछि
फूलका थुङगा सित नानी हरु खेले
प्लाष्टिकका फूलहरु घरभित्र ओसारिए
केहि गिफ्ट सप मा किनीएका बुकेटहरु
बाँकि सबै बाहिर पसारिएका थिए
मेरो साहनुभुती ति फूलका थुङगालाई
सक्ने जती ल्याए आफै सँग
त्यसैले मेरो सब्जी पसल हराएर
फूल पसल जस्तै भएको
कयौ थरि फुलहरु बासना थरि थरि
मेरो ग्रहाकले गरेको प्रश्न अब सब्जी बेच्नु हुन्न ?
सबैलाई मैले फूल बेच्न थाले जस्तै लागेछ
कति केटा केटी त फूल मागेरै लगे
तर मलाई कहिल्यै नसोघीएको प्रश्न
सात बर्षे बालक ले सोध्छ
अंकल यी फूलहरुमा पलासको फूल कुन हो ?
किन कि सबै फूल राम्रा थिए
भए जति फूलको एक एक थुङ्गा उस्लाई दिए
तर पनि उ मलाई पलासको फूलनै माग्दै थियो
बाबु पलासको फूल राम्रो फूल होईन रे
मैले दिएको जवाफले उ रिसायो
एक एक गरेर फूल टोकरीमा फर्कायो
उस्ले उस्को आन्टीको डायरीमा लेखेको भेटेको रे
म पलासको फूल हुँ – उस्को आन्टी बेस्ट आन्टी रे
द्वण्डको बेला मा मारिएकी रे बिचरी
पलासको फूल पनि बेस्ट हो उस्को अनुमान
तर म अनुमान बिहिन छु
किन कि मैले पलास देखेको पनि छैन
तै पनि मैले उस्लाई ढाँटेको छु
यो पलास फूल्ने सिजन होईन भनेर
त्यसैले म आजै देखी पलासको खोजीमा छु
मैले पलासको फूल ल्याईदिने बाँचा गरेको छु
अचेल मेरो मन पलासको खोजीमा हराएको छ ।
कस्तो होला पलासको फूल ?
गीतहरुमा भेटीए झै होला पलास ?
म पलासलाई बगैचामा फुलाउन चाहान्छु
तपाईले चिन्नु भएको छ भने मलाई उपहार दिनुस।
मैले चिन्ने जतिलाई सोध्दै छु पलास कस्तो हुन्छ ?
मैले दिन नसकेको जबाफ र नभेटेको जबाफ
म पलासको खोजिमा छु ।

पात्लेखेत-७, म्याग्दी

गजल


आचार्य प्रभा

तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो
लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो ।

तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो
बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो ।


नानाथरी बुट्टा हाल्दै,मायाको साईनो गाँस्यौ
यथार्थमा आइपुग्दा ,लाग्न थाल्यो झेल जस्तो ।

बांधीदियौ बन्धनमा, फुकाउन गार्हो भयो
समाजको रीती नै मान्न थालेँ नेल जस्तो ।

(अमेरिका )

शब्दकोष र शब्दहरु


टंक सम्वाहाम्फे

शब्दहरु
शब्दकोषको पर्खाल नाघेर
बाहिरीएकाछन्
जुन शब्दहरु युगौ देखि
शब्दकोषमा कैदी थिए
तीनै शब्दहरु
आज स्वतन्त्र भएकाछन्
त्यसैले यी शब्दहरु
यत्रतत्र,र्सवत्र
वोल्न थालीएको छ
लेख्न थालीएकोछ
सुन्न थालीएकोछ
भेट्न थालीएकोछ
र त्यसका अर्थहरु खोज्न थालीएकोछ
शब्दमा मात्र सिमीत रहेका
शब्दहरु
यसरी ब्युझेकाछन्
जुर्मुराएर उठेकाछन्
र आवाजहरुमा परिणत भएकाछन्
आजभोलि तिनै शब्दहरु
जताततै घन्किन थालेकाछन्
शब्दहरुको
संयुक्त आवाजले
शासक थर्काएकोछ
सरकार डराएकोछ
किनकी शब्दहरु शब्दकोषबाट
विद्रोह गरेर
उन्मुक्त भएका हुन्
सुनामी छाल बनेर
शक्तिसाली वनेका हुन्
खिया परी सकेका शब्दहरुको अर्थ
अव नलाग्ने भएकोछ
र त्यसको परिभाषा
परिभाषीत नहुने भएकोछ
शब्दकोषमा उपेक्षित
शब्दहरु
शब्दकोषमा अपहेलित
शब्दहरु
आत्मा सम्मान लागि
र पहिचान लागि
नयाँ अर्थमा
नयाँ परिभाषामा
शब्दकोषको चौघेरा नाघेर
अस्तित्वमा आएका हुन्
त्यसैले शब्दहरु
अव शब्द भएर बाँच्नेछन्
यो समयमा पनि
शब्दहरुले
पुरानो शब्दकोषलाई अंगाली रहे
शब्दहरु मूल्यहीन हुनेछन्
शब्दहरु अर्थहीन बन्नेछन्
त्यसैले नयाँ शब्दहरुको लागि
नयाँ शब्दकोष चाहिएको छ
यर्सथ नयाँ शब्दहरुले
पुरानो शब्दकोषको
संरचना भत्काएर
नयाँ शब्दकोषको निर्माण गरिरहेकाछन्

विजय तिम्रो सुनिश्चित् छ


भानेन्द्रकुमार लिम्बू

नरोक, ती कदमहरु
गन्तव्य आउन बाँकी छ
नछोप, ती आँखाहरु
सृष्टिको फूल
फुल्नै बाँकी छ ।

संसार
स्वप्नद्रष्टाहरुको मात्र हो
संसार
आशावादीहरुको मात्र हो
त्यसैले त
स्वप्न देख्न
छोड्नु हुन्न
आशा गर्न
हार्नु हुन्न ।

गन्तव्यको अस्तित्व खातिर भए पनि
कदमहरु, निरन्तर अघि बढ्नुपर्छ
सृष्टिरुपी फूलको
सुन्दर पुष्पबहारको खातिर भए पनि
आँखाहरु, चनाखो रहनुपर्छ
लालायित भइ सौर्न्दर्यपानतिर ।

किनकि
गन्तव्य यात्रा
मात्र स्वप्नद्रष्टाहरुको हो
शाहसी मान्छेहरुको हो ।
सौन्दर्यपान
मात्र धैर्यवान आशावादीहरुको
सुन्दरतम् उपलब्धि हो ।

यो ध्रुवसत्य छ
दिनको घाम जत्तिकै
अवश्य झुक्छन्
कस्तै बिघ्नबाधाहरु
दृढताको सामु,
फुल्छन् बेली र चमेली
यत्रतत्र ढक्कमक्क
मगमग सुवासना र्छर्दै
कस्तै प्रतिकूलताको सामु,
मात्र खाँचो छ यहाँ
दृढ संकल्पको
मात्र खाँचो छ यहाँ
दृढ आकांक्षाको ।

त्यसैले त
म भन्छु चिच्याएर
नरोक, ती कदमहरु
नछोप, ती आँखाहरु
क्षणिक दुःखमा
निराश अनि हताश भएर ।
बढाऊ, अघि अझ अघि
आफू र आफ्ना कदमहरुलाई
किनकि
विजय ति म्रो सुनिश्चित् छ
प्राप्तिमा
एउटा सुन्दर संसार
तिम्रै पर्खाइमा
तिमीलाई पाउन
व्यग्रताले छट्पट्टाइरहेछ
जहाँ अन्याय र अत्याचार छैन
जहाँ उँचनीचको भेदभाव छैन
जहाँ जात र पैसाको आधारमा
मान्छे विभाजित् छैनन्
मात्र मानव भएको नाताले
रातो रगतको समानाताले
एउटै मानव एउटै जात
धर्म मानवीयता
कर्म लगनशीलताको
एउटै धून
एउटै गीत र एउटै नारा
गुञ्जन्छन्
स्पन्दनस्पदनमा मुटुका
यत्रतत्र सर्वत्र ।
काठमाण्डौ । २०६१/१०/०९

गीत


आचार्य प्रभा

म भावनात्मक माया गर्न थालें तिमीलाई
तिमी भने चाहनाको दृष्‍टिले हेर्न थाल्यौ मलाई ...

म मीठो कल्पनामा बहन थालें तिमीमा
तिमी भने स्वार्थको शब्द फ्याँक्न थाल्यौ म मा ...

भन्छन माया अनायस देखिने इन्द्रेणी को रङ हो
त र लाग्छ तिम्रो माया बैँशको उन्माद हो ...

सुनेकी छु निस्वार्थ माया शारिरिक् चाहना हैन
स्वार्थपूर्ती गर्ने माया केवल बहाना पनि त होइन ...

म श्रद्दालु आँखाले खोज्न थालें तिमीलाई
तिमी भने नशालु नजरले पाउन खोज्यौ मलाई ...

(प्रणय दिवसमा समर्पित गीत रचना २ -११ ०९ साँझ ९ बजे )

सिमाना हराएको देश


दिलिप योन्जन

टनकपुर हरायो सम्झौतामा
माहाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गाडाको त के कुरा
मेरो देशको रास्ट्रियता
बिर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पसु नेताहरुले
रास्ट्र र रास्ट्रियता माथी खेलबाड गरेकोछ
पुर्बमा गएर पस्चिमको बिकास, रोजगारी
पस्चिममा गएर पुर्बको बिकास सुनाएकोछ
जनतालाई झुकाउनसम्म- झुकाएकोछ।

बिरोध नभएको हैन बारुद गनाए पनि
मातृभुमीको माया नगरेको हैन नेपालीहरुले पनि
आस्वासन र बिस्वास नदिएको हैन
कहिले नया दिल्ली...... कहिले काठमान्डौ........
मन्त्रि र सचिबको मिटिङले माटो र सिमाना हराए पनि।

देशको नक्सा फेर्दैछ, नँया डोबमा पुरानो किल्ला
मातृभुमी रोएकोछ, स्वयम्भूको आँखा रसाएकोछ
ढुङा गुडाएर, घुएत्रो हानेर जोगाएको देशको सिमाना
पैसा र बैसामा रास्ट्र नेताहरुले माटो र पानी बेचेकोछ
योधाहरुको रगतले कोरेको रेखा र देशको अस्तित्व
मान्छेको रुपमा यि ब्वासाहरुले बेचेकोछ, मेटेकोछ
५ तारे होटलमा हुस्की र इस्कुवाचमा रमाएकाछन, नाचेकाछन
रास्ट्रको सिमाना हराएको खुसीमा
देशको माटो बेचेको खुसीमा।

अस्टिन, अमेरिक

गजल


केदार श्रेष्ठ'गगन'

टाढा बसी तड्पायौ मेरो भूल के थियो ?
एक नजरमै फसायौ मेरो भूल के थियो ?

वोलीमै लठ्ठएिँ म वहकिएँ कि अलिकति
पाताल सम्मै धसायौ मेरो भूल के थियो ?

जिवनभरि साथ दिन्छु भन्थ्यौ कसम खादै
तर भिरबाटै खसायौ मेरो भूल के थियो ?

गगन रुँदा खुसी छौ आज पापको डर छैन
किन शत्रु सारा हसायौ मेरो भूल के थियो ?

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए. इच्याप्टर

साचो माया पाए



भानेन्द्रकुमार लिम्बू

साचो माया पाए यहा, स्वर्ग उदाउछ ।
पहाड् जस्तो पीर पनि, फूल भइदिन्छ ।।

निरस्ताले गाजिएका, उजाड् जीवन्हरु पनि ।

मायारुपी अमृतले, मौलाउछन् दूबो बनी ।।

पिल्सिएका घाउहरु, अनायशै निको हुन्छन् ।
विरक्तिएका मन्हरु, हरियाली बनी दिन्छन् ।।

साचो माया पाए यहा, स्वर्ग उदाउछ ।
पहाड् जस्तो पीर पनि, फूल भइदिन्छ ।।

सुन्सान् शहरहरुमा, गुन्जन्छ गीत प्रितको ।
थाकेका तनहरुमा, जाग्दछ आशा जितको ।।
मरेतुल्य जीवन्हरु, उठ्तछन् नया जोशमा ।
प्रसन्न चित्त लिएर, नव जीवनको खोजमा ।।

काठमाण्डौ । २०६५/०९/२९

यो मन


भानेन्द्रकुमार लिम्बू (सम्बाहाम्फे)

शान्त छैन
यो मन
हिजोआज
शान्त तलाउको पानी झैं ।
कहिले तमासिएर
उफ्रन खोज्छ जताततै
खुशीयालीमा
बाख्राको पाठो झैं
आफ्नै दुनियाको बारीमा
अशाध्यै चञ्चल भएको छ
यो मन ।
कहिलै नभेटेको चीज भेटे झैं
यो मन
मख्ख छ गर्वले छाती फुलाएर
मानौं उसले
दुर्लभ रत्न भेट्टाएको छ ।
मस्त जवान भएको छ
यो मन
उसलाई रत्ति थकान छैन
भविष्यका तानाबाना बुन्नमा
सुन्दर अनि अद्वीतिय
स्वप्नलोक निर्माणमा
अहोरात्र जुटेको छ
के हो रात
के हो दिन
उसले बिर्सेको छ
एकाग्र भएर ।
यो मन
के के सोच्छ के के ?
कहिले कल्पनाको विमानमा
अन्तहीन उडान भर्छ
कतिपटक त फर्किनै बिर्सेको छ
विगतमा ।

भावनाको डुङ्गा चढेर
मायाको सागरमा
यात्रा गर्न
औधी मनपराउछ
यो मन
जहा उसलाई
उमेरको हद हुदैन
सानो जातको बात लाग्दैन
गरीब हुनुको पीडाबोध हुदैन
चाहेको माया लिनदिनमा
चाहे आफू कुरुपै भए पनि
सबैभन्दा सुन्दर अनुभव गर्नसक्छ ।
त्यत्ति मात्र कहा र ?
ऊ आफूलाई
मनपर्दी स्वप्न सुन्दरी
चयन गर्नसक्छ
लाखौंलाख परीहरुका बीचबाट
निर्धक्क भइ शानले ।

सुन्दर घर बसाउने
मनमोहक बगैंचा सिंगार्ने
संस्कार एवम् आतिथ्यले युक्त
माया एवम् सम्मानले पूर्ण
एउटा मानव चौतारी
निर्माण गर्न
आफ्नो असफल विगतलाई
हृदयको कुनाकुनाबाट मेट्टाउन
व्यस्त छ यो मन
किनकि उसले
मायाको किरण पाएको छ ।

काठमाण्डौ ।
२०६५/१०/२८

मनको उच्छ्वाश


आचार्य प्रभा

मलाई यत्तिखेर,
भुईे कुहिरो भएर उड्न मन लागेको छ
अँ ह ---आकाशिन मलाई मन छैन
म ,निस्तेज भएर नै रमाउन चाहन्छु
म ,देउरालीलाइ चुम्न चाहन्छु
भञ्ज्याङलाई अङाल्न चाहन्छु
भीर,पाखासँग मीत लाउन चाहन्छु ।
मलाई यत्तिखेर क्षितिज भएर
हाँस्न मन लागेको छ ,
अँ ह ---मलाई
फराकिन मन छैन
म ,रङिन भएरै सजिन चाहन्छु
म,आकाश र धर्तिलाई जोड्न चाहन्छु
पहाडलाई छाम्न चाहन्छु
साँझलाई रङाउन चाहन्छु ।
मलाई यत्तिखेर ,
शिरिष भएर फुल्न मन लागेको छ
अँ ह ---,
मलाई गुलाब हुन मन छैन
म, नीलो रङ भएर फुल्न चाहन्छु
म ,शान्तिको रङ भएर झुल्न चाहन्छु
आकाशसँग दाँजिन चाहन्छु
नीलो झरनामा परीभाषित हुन चाहन्छु
शान्तिको पर्याय शान्त शितल
नीलो दह हुन चाहन्छु ।
(रचना २०६० साल नेपाल बिभिन्न मिडिया हरुमा बाचन् गरिएको )

गजल


भूपेन्द्र महत

टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिन
पछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिन

मन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनु
भिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिन

उडान उची थियो कता पुग्यौ मलाई थाहा भएन
बज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिन

अनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागि
मनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिन

चर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगे
जिबन हारी सक्दा पनि झूट भनी मानेको थिन

बैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले नि
आगमन स्वागतार्थ मुटुको किल्ला बानेको थिन

गजल

केशब आचार्य

ब्यथा खस्दा आँखाबाट पुछ्थे तिम्रा हातहरु
मल्हम हुन्थ्यो दुख्दा छात्ती,मीठा तिम्रा बातहरु ।

कोलाहलमा रमे पनि जुनसुकै पलहरुमा
तिम्रो साथ पाउदा सधैं मीठा बन्थे रातहरु ।

गार्हो भयो बाटो काट्न एक्लै हुँदा जिन्दगीको
हांसी हांसी हिंडिएथ्यौ पाउदा तिम्रा साथहरु ।

सिथिल भए पाइलाहरु नैराश्यले ढाकिदियो
लोलाउथे नयनहरु पाउदा तिम्रा ओँठका मातहरु ।

(रचना २०६१ साल नेपाल हाल कोलोराडो )

मेरो मुटु


केदार श्रेष्ठ'गगन'

फूल उनी,
जून उनी,
खुन मेरो उनी
देखिन आज मैले
भेट्न किन आइनन् ?
किन मेरो आँखाबाट ओझेल परिन् ?
प्रिय
कुनै परिबन्धमा त परेनौं ?
कतै समय पापीले त बाधेन ?
कति आतुर थिए मेरा ओठ
ति म्रो नाममा लेखेको मनको वह,
ति म्रै यादमा कल्पेका कल्पनाहरु
तिमीलाई सुनाउन
तर
अहिले ब्याकुल भा'को छु म
तिमीलाई नदेख्दा,
तिमीलाई नभेट्दा,
रोइरहेछन् आँखा,
विरह र वेदनाको आँधी चलिरहेछ मनमा ।
ज्वारभाटाहरु उर्लिरहेछ,
सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा
कतै हिजो भेटेको क्षण नै
अन्तिम त होइन ?
हिजो बोलेको आइ.लभ.यू.
र ति म्रो त्यो कोमल हातले मुसारेर
गालामा च्वाप्प खाएको म्वाई
अन्तिम हुने त होइन ?
कतै दैवले अन्तर्घात त गर्ने होइन ?
त्यसैले म भगवानसँग विन्ति गर्छु
हे ! भगवान
कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गरार्इ दैऊ न
फूलपाती चढाउँला
त्यतिले नपुगे
के माग्छौ घुस भन
म दिन तयार छु
रागो, बोका, कुखुरा,परेवा........जे माग्छौ,
म चाहान्छु-
उसको मायामा
मेरो यो शरीर समाधिस्थ गराउन,
उसको मायाको रापमा
यो ज्यान खाग बनाउन ।
उनी टाढा छिन्
मेरो कुपोषणयुक्त
इच्छा,आकांक्षा र सपनाहरु
मनसँगै बतासिएर
कहिले बतासमा,
कहिले वर्षातमा
समाहित हुँदै उसको प्यारमा
उसको माया
आँखाको डिलबाट
बग्न थाल्छ अवीरल,
म सम्झीन्छु उसले भनेको कुरा-
तपाईँलै भनेको हैन ?
तिमी मेरो मुटु हौ भनेर
हो म तपाईँकौ मुटु भए
तपाईँ मैरो शरीर
शरीर र मुटु कहिले अलग हुन सक्छ ?
त्यसैले अब हामी एउटै भएनौ त ?
२२माघ२०६५
भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ च्याप्टर

गीत


दिलिप योन्जन

जे गरे नि नबुझ्ने, कस्तो पापी मन
एक्लै कति बाचु प्रिय, तिमी आफै भन।

साझ बस्दा बिहान हुन्छ, निद लग्यो खैकेले
दुख्दछ मुटु भकानो फुटी, त्यो तिम्रो मायाले
काहाँ बसी फेरु श्वास, मैले निसासिन्छु झन२
एक्लै कति बाचु प्रिय, तडपाई आफ्नै मन।

पल२ टाल्छु च्यातिने छाती, त्यो तिम्रो यादैमा
पिएर नसा मेटिन्न तिर्खा, त्यो तिम्रो प्यासैमा
परेली पुच्छ्दा तरेली पोल्छ,जल्दिदा भित्री तन
एक्लै कति ,बाचु प्रिय, रुवाई आफ्नै मन।

अस्टिन, अमेरिक

घुमाउरे घरको आँगन


स्यानु पाईजा

काली गण्डकी गहिरेर बग्दै छ
करेसाबारीमा रायो शीत सङगाल्दै छ
हिउँदे तरकारीलाई पानी अरे
चुलोमा चाउचाउ पाक्दै छ
स्कुल बाट आउने नानीको अर्नी अरे
घुमाउरे घरको आँगन पहारिलो धाम
रमी-समी के खेल्दैछन ठिटाहरु
बिदेशबाट छुट्टीमा घर आका अरे
काम त बिदेशमै गरियो अरे
बिन्दास्/रिल्याक्स छुट्टी मनाउने अरे
एक जोडी बुढा-बुढी, बुढो गोरू सँगै
सुस्केरा हाले,जुवा र हलो एक एक बोकेर
बहर दाउने बल नपुगेर बुढो गोरू जोतेको अरे
यसै साल नातीले बाजेको भजनमा
रयाप हालेर रिमिक्स गर्यो अरे
नातिनीले मिस नेपाल- के? जितिन अरे
यो घुमाउरो घरको आँगनमा बसेर
नदेखिने अरु कुरा पनि छन अरे
जन्मदै बच्चा जन्डिज बोकेर आउछ अरे
बुहारीहरुलाई मात्र छोराको फोन आउँछ अरे
बजै फोन मा रुनु बाहेक अरु बोल्न सक्दिनन अरे
घरको खबर नातीलाई सुनाउन सक्दिनन अरे
यो घुमाउरो घरको आँगनमा एफ एम रेडियोमा
नातीको ररयाप भजन बज्दै थियो
एफ एम रेडियोले समचार सुनायो
आर्थिक मन्दीले बिदेशीले कामदार कतौटी सुरू
म मेरा जँगल बनेका खेत हेर्दै थिए
भस्मे फाँड्न मात्रै पनि कति दिन लाग्ला ?
अब के गरु यो घुमाउरे घरको आँगनलाई ?
जहाँ सधै तास मात्रै खेलिन्छ
भत्काउ भने बाजेको चिनो, राखौ भने जुवा घर ।

पात्लेखेत-७, म्याग्दी

पक्षघातले पीडित मेरो देश


आचार्य प्रभा

अचेल मेरो देश ...
पक्षघातले पीडित छ
पोख्त डक्टरहरुको अभावमा
असम्भव छ यो रोगको
निराकरण हुन
किन कि,
यहाँ डक्टरहरुको माथिङ्गल नै
स्वार्थ र पद्लोलुपताको होड्बाजिमा
भौतारिरहेको छ ।
बिचरा मेरो देश ,
सहि उपचारको अभावमा
अपाङ्ग बनिरहेछ ।
निस्वार्थी सेवकहरुको उपचारको आशामा
म्रीततुल्य भैरहेछ ,
हुन पनि त हो ,
अपाङ्ग र अशक्तताको अभावमा
मेरो देश किन निरीह नहोस् ?
सहि स्याहार र आश्वासनको अभावमा
मेरो देश रोगले ग्रस्त छ ।
बाँच्नुको अपेक्षामा अर्धचेतन
भै लडिरहेछ ,
संजिवनि दिने हातहरुको आशामा
आँखाहरु बिछ्याइ रहेछ ।
अचेल मेरो देश ,
मानसिक रोगले भयभीत छ
पक्षघातले पीडित छ ।
(रडियो नेपालको स्पन्दन कार्यक्रममा २०६१ सालमा बाचन् गरिएको )

विवषतामा वाँचेको आत्मा


एकलव्य राज

फोहोरको डंगुरमा
लुकामारी खेल्दै अभावका डोकाहरु
उनिहरुको सामु लम्पसार परेको छ ।
उता हरक्षण आकाशिने होडमा
कुदिएका छन्
प्रातकालिन समय
पुष्पगुच्छाका अगुल्ठाले
छोपिदै स्वर्ग खोज्ने होडमा
भौतारिरहेको काला वादलहरु
गुरुरु गुरुरु यता उता
चाँपाचाप त्यो अस्लिल नगरीमा
कुरिरहेकाछन् मानवताका
भण्डारमा वस्न
तर यता भने
वाध्यताका पोका पन्तुराहरु लिएर
भोकको ढाकरलाई अँगोछाले छोप्दै
कालो निस्लोट रातमा
प्याट प्याट गरेको चाप
सुनिन्छ अनि गुजिन्छ
ति रातका प्रहरहरुमा
खोज्दैछन संयमका डोरीहरु
कर्कलोको पानी अडिनु जस्तै ।
अगेनाको छेउमा निदाईरहेको त्यो चोखो
आत्मा नानाले जाडो भगाउनुको सट्टा
रापले तताईरहदा
माथि कौसींवाट छ्याप्प मैलो पानी
सडकमा पर्छ अनि उसका रातका
वयेलीहरु सुसाउछन्
चुईक्क चुईक्क
कहा लागेको छ र निन्द्रा
खोज्दै छ अगेनाको राप
भेट्दैन केहि ।
त्यसैवेला माथी
घृणाको तलाउवाट
उशाको लाली सँगै व्युझदै
एक मुठो प्रेमको थाली वोकेर
मन्दिर र विहारका स्तुपामा
एक अम्खोरा पानीले आफ्नो
कर्तुतलाई पखाल्दै
कोटी होमको मन्त्र जप्दै
एक भारी फूलले
ओढाईन्छ त्यो स्तुपामा
त्यति नै खेर
उ परवाट चियाई मात्र रहन्छ
उसका वख्खुले एक डोको निन्द्रा
भिजेका छन् दलिनवाट
संस्कारमा जिउदै
भिडमा हराउदै
खुरुरु खुरुरु
यता उता दौडिन्छ
भोक र आशुको विटो वोकेर
चियाउछ छेउछाउका अभ्रखमा
त्यहा छ एक भारी भोकका पोकाहरु
हरेक जत्था मानव र संस्कारले
उनीहरुलाई पुर्छन फोहोरको सगरमाथामा
तर ठिक विपरित
फूल र लड्डुको घुईत्रो हान्दै
सलामी ठोक्छन् स्तुपामा ।
तर
उ भने सधै
विवषतामा वाँच्न
सडकका पेटी कोट्याउन
आकाशको छानो लगाई
कोल्टे फेर्न वाध्य छ ।
सुन्यतामा विकेको
उसको संकटलाई
अन्धकारले टेकेको
उसको बिवषतालाई
चुलिदै गएको
उसको भोकलाई
लात हानेका छन्
अर्ध चेतन धर्मात्माले ॥

बयरवन ३ हरकपुर मोरङ
हाल दोहा कतार

गजल

केशब आचार्य

ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।

कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।

अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।

सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस ।
(रचना २०५३ साल )
बोल्डर कोलोराडो

अभिषाप


बसन्त मोहन अधिकारी

लोभी,
पापी,
निर्दही,
निर्मोही !
रुप, रङ्ग उडाएर
चुस्न सम्म चुस्यौ ।
बदनाम गराएर
उपभोग गर्यौ ।

त्यतिले नपुगेर
हेर, मन्दिरमा
रीति, रिवाजमा
मलाई चुडेर
जीवनको अन्त्य
यो धर्म कर्ममा ।

हे, शुन्दरी,
सुकुमारी,
रङ्गीन स्वरुपका फूलहरु !
मनमोहक आकृतिमा
तिमीले लठ्याएर
यो मन चोर्यौ
आज सम्म नभरीएको लोभ
तिमीले नै भर्यौ
म लोभी होइन
तिमीले लोभ्याई दियौ ।

मलाई के थाह ?
तिम्रो स्वाद
आफ्नो रुपले लोभ्याएर
मलाई डाँकी
रसपान गर्राई दियौ
र्स्वर्ग देखाई दियौ
बानी लगाई दियौ
त्यसकै प्रतिफल
मेरो निरन्तरता
तिमीहरुको बिभीन्नतामा
म पापी होइन ।

सोध प्रतेक भमराहरुलाई
उँ संग मन, मुटु छ
माया, ममता, प्रेम छ
विश्वासमा
हरेक फूलहरु संग बस्छ ।
तिम्रो नाई नास्ती भए
म के गर्न सक्छु र ?
एकबाट अर्को
अर्कोबाट अर्को
यो मन र तनलाई
डाँक्ने र लाने
दिने र खुवाउँने
तिमी फूलहरु ,
एकले अर्कोको
खोस्दै छौ
छिन्दै छौ
स्वयमलाई रुवाउँदै छौ
म निष्ठुरी होइन ।

हे फूलहरु !
मेरो दोष देखाई
मलाई गाली नगर
यो तिम्रो रुप, रङ्गं र
बानी ब्यहोरा नै
स्वयमको अभिषाप हो ।

गीत


आचार्य प्रभा

प्रेममा न कुनै जात हुन्छ
प्रेममा न कुनै रङ हुन्छ ...
मनले चाहे कसैलाई
जिउनुको बेग्लै ढंग हुन्छ ...
असमानता यस्ले जान्दै जान्दैन
जाती र रङ्भेद मान्दै मान्दैन ...

छुवाछुत र भेदभावको
कुनै अर्थ ठान्दै ठान्दैन ...
प्रेम एउटा संजोग हो
मिलन केवल बहना हो...
प्रीत लगाइ बाँच्नु नै
जीवनको अमुल्य उपहार हो ...
सत्य प्रेम स्विकार्य हुन्छ
धनी र गरीब समान हुन्छ ...
मनमा स्वछ माया भए
कुनै दिन यसैको बिजय हुन्छ ...

(गंगा टेली सिरियलकोलागी तयार पारीएको गीत २०६१ साल )