यो मन


भानेन्द्रकुमार लिम्बू (सम्बाहाम्फे)

शान्त छैन
यो मन
हिजोआज
शान्त तलाउको पानी झैं ।
कहिले तमासिएर
उफ्रन खोज्छ जताततै
खुशीयालीमा
बाख्राको पाठो झैं
आफ्नै दुनियाको बारीमा
अशाध्यै चञ्चल भएको छ
यो मन ।
कहिलै नभेटेको चीज भेटे झैं
यो मन
मख्ख छ गर्वले छाती फुलाएर
मानौं उसले
दुर्लभ रत्न भेट्टाएको छ ।
मस्त जवान भएको छ
यो मन
उसलाई रत्ति थकान छैन
भविष्यका तानाबाना बुन्नमा
सुन्दर अनि अद्वीतिय
स्वप्नलोक निर्माणमा
अहोरात्र जुटेको छ
के हो रात
के हो दिन
उसले बिर्सेको छ
एकाग्र भएर ।
यो मन
के के सोच्छ के के ?
कहिले कल्पनाको विमानमा
अन्तहीन उडान भर्छ
कतिपटक त फर्किनै बिर्सेको छ
विगतमा ।

भावनाको डुङ्गा चढेर
मायाको सागरमा
यात्रा गर्न
औधी मनपराउछ
यो मन
जहा उसलाई
उमेरको हद हुदैन
सानो जातको बात लाग्दैन
गरीब हुनुको पीडाबोध हुदैन
चाहेको माया लिनदिनमा
चाहे आफू कुरुपै भए पनि
सबैभन्दा सुन्दर अनुभव गर्नसक्छ ।
त्यत्ति मात्र कहा र ?
ऊ आफूलाई
मनपर्दी स्वप्न सुन्दरी
चयन गर्नसक्छ
लाखौंलाख परीहरुका बीचबाट
निर्धक्क भइ शानले ।

सुन्दर घर बसाउने
मनमोहक बगैंचा सिंगार्ने
संस्कार एवम् आतिथ्यले युक्त
माया एवम् सम्मानले पूर्ण
एउटा मानव चौतारी
निर्माण गर्न
आफ्नो असफल विगतलाई
हृदयको कुनाकुनाबाट मेट्टाउन
व्यस्त छ यो मन
किनकि उसले
मायाको किरण पाएको छ ।

काठमाण्डौ ।
२०६५/१०/२८

No comments: