विडम्बना !


भानेन्द्रकुमार लिम्बू (सम्बाहाम्फे)

यो धर्ती यो आकाश
किन किन अनौठो लाग्छ
कता कता के के नमिले जस्तो लाग्छ
अनि यो मन
नमिलेकोलाई ताछ्तुछ् गरेर
मिलाउन खोज्छ चिटिक्क पारेर
नमिलेका रङहरुलाई फालेर
सुन्दर र मिल्ने रङहरुले
चित्रकारले क्यानभासमा उतारे झैं
मनका रङीचङी रङहरुले
भित्री मनले चाहेको
सबैभन्दा सुन्दर
संसार कोर्न चाहन्छ
विडम्बना !
त्यस्तो संसार सजाउने
चाहेको रङ कहा“ छ
त्यो पनि थाह छ उसलाई
तर पाउन सक्दैन...
त्यसैले चित्र अधूरो छ
शायद अधूरै रहन्छ होला !
काकाकुलको पानी पिउने इच्छा झैं !!!

काठमाण्डौ ।
२०६५/०९/१५

No comments: