घुमाउरे घरको आँगन


स्यानु पाईजा

काली गण्डकी गहिरेर बग्दै छ
करेसाबारीमा रायो शीत सङगाल्दै छ
हिउँदे तरकारीलाई पानी अरे
चुलोमा चाउचाउ पाक्दै छ
स्कुल बाट आउने नानीको अर्नी अरे
घुमाउरे घरको आँगन पहारिलो धाम
रमी-समी के खेल्दैछन ठिटाहरु
बिदेशबाट छुट्टीमा घर आका अरे
काम त बिदेशमै गरियो अरे
बिन्दास्/रिल्याक्स छुट्टी मनाउने अरे
एक जोडी बुढा-बुढी, बुढो गोरू सँगै
सुस्केरा हाले,जुवा र हलो एक एक बोकेर
बहर दाउने बल नपुगेर बुढो गोरू जोतेको अरे
यसै साल नातीले बाजेको भजनमा
रयाप हालेर रिमिक्स गर्यो अरे
नातिनीले मिस नेपाल- के? जितिन अरे
यो घुमाउरो घरको आँगनमा बसेर
नदेखिने अरु कुरा पनि छन अरे
जन्मदै बच्चा जन्डिज बोकेर आउछ अरे
बुहारीहरुलाई मात्र छोराको फोन आउँछ अरे
बजै फोन मा रुनु बाहेक अरु बोल्न सक्दिनन अरे
घरको खबर नातीलाई सुनाउन सक्दिनन अरे
यो घुमाउरो घरको आँगनमा एफ एम रेडियोमा
नातीको ररयाप भजन बज्दै थियो
एफ एम रेडियोले समचार सुनायो
आर्थिक मन्दीले बिदेशीले कामदार कतौटी सुरू
म मेरा जँगल बनेका खेत हेर्दै थिए
भस्मे फाँड्न मात्रै पनि कति दिन लाग्ला ?
अब के गरु यो घुमाउरे घरको आँगनलाई ?
जहाँ सधै तास मात्रै खेलिन्छ
भत्काउ भने बाजेको चिनो, राखौ भने जुवा घर ।

पात्लेखेत-७, म्याग्दी

No comments: