खगेन्द्र थापा
फूलले बास्ना दिन्छ, बिनास्वार्थ सुन्दरता दिन्छ
के थाहा उसलाई, दिनुहुन्छ हुन्न, र पनि दिन्छ
जूनले निस्वार्थ शीतलता र उज्यालो प्रकाश दिन्छ
के थाहा उसलाई दिनुहुन्छ हुन्न, तर पनि दिन्छ
तिमीमा चाहि के स्वार्थ छ र ?
तिमी त मान्छे हौ, तिमीमा ज्ञान छ, विवेकी छौ
के छैन र तिमीमा ? त्यसैले देऊ
फूल नै नभए पनि फूलको जस्तो सुवास देऊ
जून नै नभए पनि जूनको जस्तो आभा देऊ
दिंदैमा तिम्रो मन रित्तिदैन, जिउने आशा देऊ
आफ्नो पन सिद्धिदैन, बाँच्ने अभिलाशा देऊ ।
कामले दाम दिन्छ, सुन्दर नाम दिन्छ
स्वाभिमान दिन्छ, अझ अमूल्य सम्मान दिन्छ,
के थाहा उसलाई दिनुहुन्छ हुन्न, र पनि दिन्छ
घामले उज्यालो बिहानी दिन्छ, सुन्दर जवानी दिन्छ
के थाहा उसलाई दिनुहुन्छ हुन्न, तर पनि दिन्छ
तिमीमा चाहि के स्वार्थ छ र ?
तिमी त मान्छे हौ,
तिमीमा बोध छ, बुद्धिमानी छौ
बरु, के छैन र तिमीमा ?
त्यसैले, तिमीसँग जे छ त्यही देऊ
घाम नभए घामको जस्तै ज्योति देऊ
केही नै छैन भने पनि पसिनाको मोती देऊ
दिंदैमा तिम्रो ज्यान सिद्धिदैन, स्वाभिमान रित्तिदैन
बरु, बाँचुन्जेल मान पाउँछौ मरेपछि सम्मान पाउ“छौ
त्यसैले जति सक्छौ देऊ, जे सक्छौ देऊ, जसरी सक्छौ देऊ,
केहीनभए, घृणा होइन माया देऊ, शीतल छायाँ देऊ दिनचै“ देऊ
एकरत्ति कन्जुस्याँर्इ नगरी देश र जनताको लागि केही न केही देऊ ।