खगेन्द्र थापा
हिजोसम्म आशाको क्यानभासमा रंगिएको यो मन,
रङ र कुचीको अभावले छट्पटार्इ छट्पटार्इ
आज मानवताको मरुभूमीमा मुर्छित भएर ढल्न लाग्दा
अचानक छङ्गछङ्ग बग्ने झरना जस्तो, कञ्चन लेकाली ताल जस्तो
निर्मल सागरको उर्लदो छाल जस्तो, विषैविषले भरिएको बोत्तल देख्छ,
अभागी हातहरु त्यतै लम्कन्छन् नजर त्यहीँ लठिन्छ
सायद, फगत एउटा अन्तिम आशा पसारेर
अर्ध चेतनामै मैले टुलुटुलु हेर्दैगर्दा, गम्दागम्दै, सोच्दासोच्दै,
अमृतमय त्यो काँचको बोतल प्याट्ट फुट्छ
त्यसैले होला, म आत्तिएर बेस्सरी चिच्याउँदै हुन्छु
कलेटीपरेका ओठ बाँउदै बिछिप्त स्वरले,
केवल, पानी.....पानी.....भनेर,
तर
"असिम दुःख बेदनाका माझ अझै किन बाँच्नु पर्ने -"
मैले, म भित्र लीन भएर चिन्तन गर्दैगर्दा
ऊ भने, खुरुखुरु बालुवा भिजाउँदै हुन्छ
बोतल र मेरो जिजिविषा लत्याएर
सधैँ, सधैँका लागि हाम्रो जीउने आशा बत्त्याएर
तर पनि, सासले साथ नछोड्दा सम्म
बाँच्ने आशाहरु सल्बलाउँदै थिए यो दधिची हृदयमा
तब त म, जीवन मरणको संघार टेकेरै पनि
विक्षिप्त ढुक्ढुकीको रथ हाँकीरहेथेँ
खियाले खाईसकेका मेरै गाउँबस्तीहरु माझ,
आतंकले क्षतविक्षत् मनस्थितिका साथ
छिनछिनमा हरे कृष्ण हरे राम जपेर
खाँटी पागलको उपमा खेपेर,
अनुभूतिहीन म, त्यतिबेला कम्पित स्वरमा बर्बराउँदै थिएँ
यो मुलुकमा अब पनि यस्तै भाँडभैलो मच्चिई रहन्छ भने
"भो, प्यासी रहरहरु नमौलाउन् घार्इते मनलाई जंजिरले बाँधी दिन्छु
छिचिमिराहरुले दिउँसै ताण्डव नृत्य देखाइ रहन्छन् भने
मुर्छित रहरलाई पहाडले थिचिदिन्छु,
अझै आत्मदाह नहुने हो भने, जिउने आशा नमर्ने हो भने,
बाँचेर मैले हिड्नै पर्छ भने ।"
No comments:
Post a Comment