निष्ठुरी बाटो


चन्द्र गुरुङ्ग

एउटा बाटो
गाउँको कोमल छातीलाई चिर्दै
मस्त नाचिरहेको वन-जङ्गललाई बेवास्ता गर्दै
मौन पहाडको फेदमुनिबाट
खुसुक्क गा’को छ
र पसेको छ अन्जान सहरमा ।

वनभोजमा सामेल
स-साना स्कुले नानीहरू जस्ता छालहरूलाई
नाचगानमा नै छाडी राखेर
खोलाको किनारै-किनार हुँदै
यो बाटो
कति निष्ठुरी भएर
पसेको छ पराया सहरमा ।

त्यो बाटोले
सहरमा पसेर
आफ्नो एक पोको इमान बेचेपछि
थुप्रै बेइज्जत कमाएको छ
आफ्नो मुटुको निश्चल फूलबारीमा
काँडाहरूको ठूलो झयाङ उमारेको छ
र इज्जतको निर्मल आकाशमा
टाँगेको छ बदनामीको कालो तक्मा ।

आज
उसको प्रदूषित हृदयबाट
हराएको छ गाउँको स्वच्छ मुहार
उसका निर्मम हातहरूले
निमोठेका छन् कलिला यादहरूलाई
र उडिसकेका छन् मस्तिष्कको क्षितिजबाट
सम्झनाका रमाइला बादलहरू ।

फर्की नआएको निष्ठुरी बाटोलाई
किन होला ?
अझै पनि पर्खिरहेको छ त्यो गाउँले ।

No comments: