म दिलबहादुर लिम्बू


किराँती भोगेन एक्ले

हजुर, म दिलबहादुर लिम्बू
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सन्की सिपाहीको
यो सम्पतिले पुरिएको सहरमा
सयौंतले खण्डहरहरुको घुइँचोभित्र
मेरो लागि खाली मात्र म अटाउने
एउटा छिँडी नमिल्दा
हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि दूर
एकलासको एकान्तमा लुकेको म
आज शिकार भएको छु एउटा आततायी शिकारीको
के थियो मेरो त्यस्तो बिराम्
यो समाजमा उभ्याउन नसकेर आफूलाई भागेको म
यो समाजबाट अर्घेलो भई खेदिएको म
कसको लागि त्यत्रो खतारा बनेँ
र मेरो खप्परमा सजाय गोली लेखियो
के म दिनदहाडै सहरमा गर्जने ताइलो थिएँ ?
कि शरीरमा बारुद भरेर निस्किएको आत्माघाती थिएँ हँ ?
मैले लिका सिङहरुको घरबारी खरबारी लुटेको थिइनँ
न मैले अराजकता नै फैलाएको थिएँ यो मुलुकमा
होला, बिराएँ हुँला केही
एउटा नाबालकले ओछ्यान मुतेजस्तो
नपाएर साथीभाइको जस्तो खेलौना
हीनताबोधले तड्पिएको बेला
तमासा मच्याएँ हुँला उफ्रिएर
यतिकैमा गुमाएर होस
ठोकेर मेरो निधारमा गोली
उतार्नु मिल्थ्यो त रीस अभिभावकले ?
मेरो रगतको रङ्ग पनि उस्तै त थियो
उसकैजस्ता थिए होलान् सपनाहरु पनि धेरै
मेरो तस्बीर शिरानी लाएर सुत्ने पत्नी
बाबा कुरेर बसेका बचेराहरु
म फर्की आउने बाटो हेर्ने धमिला आँखाहरु
उस्तै त थिए मेरा पनि उसकोजस्तै
खै त मानवता ?
खै त यो सभ्य समाजको
सभ्य तालिम प्राप्त विवेक ?
थुप्रै सपनाहरु किन्न निस्किएको म पर्देश
यो जाली समयले आज उल्टै मलाई बेचिदिएपछि
जीवनलाई बगाउन नसकेर अरु धेर
किनारा लाग्दा एकाछेउ
यो मान्छेहरुको सहरमा
म एउटा मान्छे
मान्छे हुनुको पहिचान हराएर
अमान्छे बाँचेको बेला
ममा मान्छे खोज्दै मलाई
एउटा मान्छेले नै निलेको छ आज
ठूलो माछाले सानो माछा निलेजस्तो स्वात्तै
महिनौँदेखि भोक र शोकले गलेको ज्यान
बाउँठी सकेका हात गोडाहरुमा के थियो र पाइन
एउटा हट्टाकट्टा सिपाहीलाई लतार्ने
के थियो र त्यस्तो शक्ती ममा
र उ सुरियो मेरो निधारमा गोली दाग्न
होसियार
ऐ हेनेन्सी रोडबासी मोहमद आलम
सामसुइपो पार्कबासी अपो, लोयम र स्युख्यङहरु
आकाशे पुलमुनि ओतिहिड्ने मेरा सजातिहरु
यो माउसुलीहरुको स्वर्णद्वार
पुतलीहरुको पासो
यो कालो माकुरी जालोले
भोलि तिम्रो पनि परिचय माग्न सक्छ
तिम्रो पनि थाँतबास खोज्न सक्छ
र त्यो बेला
नरन्कनु तिमी आफ्नो परिचय हराएको झोँकमा
नभन्नु उसलाई आफू बेवारिसे, बेघरबार भएको सत्य
नत्र उसले आफ्नो बहादुरी देखाउन सक्छ
मलाई जस्तै निधारमा तिमीलाई पनि गोली ठोक्न सक्छ
ड्याङ, ड्याङ, ड्याङ ।

(१७ मार्च २००९ का दिन होमान्तीनमा एक हङकङ प्रहरीको गोलीबाट अनाहकमा मारिएका नेपाली दीलबहादुर लिम्बुलाई श्रद्धाञ्जलीस्वरुप ।)

No comments: