विवश वस्ती
१.उकाली चढेँ...
उकाली चढेँ धेरै, ओराली झरेँ धेरै
हिँड्दै जाँदा लेक-बेसी भए आफ्ना मेरै
सुसाउँथे खोलीहरु मेरै पदचाप सुन्दै
पाखा पर्वत आफ्नै सुरमा रम्थे मन बुन्दै
भञ्ज्याङको चीसो हावा भए सबै मेरै
उकाली चढेँ...
क्षितिजले अँगालोमा बेरुँजस्तै गर्थ्यो
बतासैले आफ्नो भाका फेरुँजस्तै गर्थ्यो
नागबेली बाटाहरु मार्न खोज्थ्यो फेरै
उकाली चढेँ...
२.भीरको फूल...
भीरको फूल जस्तै हुँ म, कुबेलामै ओइली झर्छु
न कसैको पीरमा पर्छु न कसैको शीरमा पर्छु
ढुङ्गामाथि झरेँ भने सुक्छु घामले पोली
माटोमाथि झरेँ भने कसले सुन्ला बोली
खै को लठ्ठीएला सुँधी मेरो बास्ना
एकै पल जिन्दगीमा पाइएन है हाँस्न
सुम्सुम्याउँछ कुनै बेला जूनको थोपा झरी
हल्लाउँछ बतासैले मीठो मुस्कान छरी
भीरभन्दा छैन अर्को मेरो कुनै संसार
क्षितिज पारी हरायो कि मेरो रङ्गीन बहार
No comments:
Post a Comment