मेरो झुपडी


बि जे बान्तवा राई

जंगलको बिचमा
मेरो सानो झुपडी,
मेरो हरेक ब्यस्तता सँगै
छाउन बिर्सन्छु।
गहकिलो बर्षासँगै
चिथ्रा चिथ्रा भएर चुहिन्छ।
सालमा सकी नसकी एकपल्ट
कमेरोले लिपपोत
गरेको गारो सबै
चुहिएर कति नराम्रो धर्सा कोरिन्छ।
मेरो ब्यस्ततासँगै मेरो झुपडीले
धेरै धेरैं पिंडाहरु
भोगिरहेछ।
म मेरो झुपडीलाइ छोडेर
कहिले हप्तौ हप्ता टाढा जानु पर्ने हुन्छ।
एक्लै मेरो झुपडी
सन्नाटा भित्र हराएको हुन्छ।
त्यो अनगिन्ती पशु हरुको माझ
एउटा मेरो झुपडी
कोइ कोइ बेला सम्झिन्छु,
मेरो झुपडी डराई राखेको होला,
त्यो अध्याँरी रात
उल्लुको त्यो रुखो बोली
अनि चितुवाको गर्जाइँ सँगै
भयले निस्सासिएको होला
मेरो झुपडी।
म कहिले सुधार्ने समय दिन सक्दिन ।
मलाई थाहा छ मेरो निम्ती
सबै थोक हो मेरो झुपडी
तर पनि सम्झिन्न
मेरो झुपडीको ब्यथा।
बर्षा, बादल, हुरी, बतास अनि घाती
पशुहरु सँगै एक्लै उभिएको छ,
मेरो झुपडी।

No comments: