म मदन र मेरी मुना


टंक सम्वाहाम्फे

उता नेपालबाट म मदन र मेरी मुना
सपनाहरू खोज्दै
अर्को भोट हङकङ टेकेको पनि
बर्षौ वितिसकेछ
तर म मदन र मेरी मुनाका
सपनाहरू
सपना बनेर अझै आएका छैनन्
घाम भएर अझै उदाएका छैनन्,

हङकङमा हामीले
परीपरीका सपनाहरू देख्यौ
तर मात्रै देख्यौ
थरीथरीका सपनाहरू भेट्यौ
तर मात्रै भेट्यौ
किनकी यहाँ त ती सपनाहरू
देख्ने र भेट्ने संयोग मात्र मिलेको छ
तर पनि त्यसको मोहले
छुन खोज्दा
यहाँको अग्लो महलहरू भन्दा माथि
अग्लिएकाछन् सपनाहरू
चुम्न खोज्दा
यहाँको भूमिगत रेल भन्दा
तिव्र गतिमा
हुईकिएकाछन् सपनाहरू
भेट्न खोज्दा
यहाँको दुईतले गाडीभन्दा
हतार-हतार
गुडेकाछन् सपनाहरू
त्यसैले म मदन र मेरी मुना
सपनाहरूको रमिते मात्र भएकाछौँ
तै पनि हाम्रा मनहरू
त्यसै त्यसै लोभिएकाछन्
सपनाहरूलाई देखेर
यसकारण सपना खोज्नेहरूको
भीडमा धकेलेर
हङकङ शहरमा
बर्षौदेखि हराई रहेकाछौँ
उत्ता गाउँलेहरू सोच्दै होलान्
मदनले
सपनाको महल ठड्याई सक्यो
उत्ता शहरका
आफन्तहरू भन्दै होलान्
मुनाले सपनाको भकारी
भराई सकि
तर यता हङकङ शहरमा
म मदन र मेरी मुना
जीउँनुको बाध्यताले
जीवन यन्त्रवत बनाई रहेकाछौँ
किनकी दिनभरीको
जोखीम र हैरान मोलेर
हरेक साँझ लखतरान
निदाएका हुन्छौँ
र हरेक विहान
अल्लामको घण्टिले
शिथिल जीउलाई उठाईरहेका हुन्छौँ
यो यन्त्रवत जीवनको भोगाईहरूमा
खोई कहाँ छ र ?
बिहानीको त्यो मीठो निंद्रा
खोई कहाँ छ र ?
मखमलको त्यो नरम ओछ्यान
खोई कहाँ छन् र ?
ती आफन्त जनहरू
यहाँ त सपनाले सवै सुखशान्ति
र चयनहरू
निर्मम लुटि दिएको छ
निर्मम खोसी दिएको छ,

हङकङका चाईनिज सिफुहरू
सपना दौडेको देख्छन्
घोडारेसमा
र घोडासँगै दौडाउँछन्
महिनाभरी कमाएको सपना पनि
तिनै सिफुहरू
सपना नै छापीएको देख्छन्
मार्क सिक्समा पनि
र स्वास्नीको सपनाले
किनी दिन्छन् मार्क सिक्स
तर, जब घोडा दौड सकिन्छ
र मार्क सिक्स खोलीन्छ
तब उनीहरूको हातबाट
सपना टाढी सकेको हुन्छ
तत्क्षण पाश्चातापले पोलिँदै
रीसले मुर्मुरीदै
र्फकन्छन् खाली हात आफ्नै घरतिर
यसरी सपनाले
म मदन र मेरी मुनालाई
मात्र नभएर
चाईनिज सिफुहरूलाई पनि
छक्याउँनसम्म छक्याएको छ
तै पनि हामीले
सपनालाई खोज्न छोडेनौँ
खोजीरहेकाछौँ
यता हङकङ पसेदेखि
त्यसकै पछिपछि दौडिरहेकाछौँ
थाहा छैन सपना कहिले भेटिने हुन् ?
थाहा छैन सपना सपना भएर
कहिले आउँने हुन् ?
तर पनि खोज्ने क्रम निरन्तर जारीछ
यसरी हङकङमा
म मदन र मेरी मुनालाई
वर्षौ देखि सपनाले अल्मल्याएकाछ ।

बटुवा


बिमल गिरी

उफ....कति लामा र
अनन्त घुम्तिहरु
अन्जुलिमा विश्वाशका खडेरी उघ्घाउदै
बर्तमानको भ्रुणलाई
आँखामा भ्रम पार्दै
कहाली लाग्दा
अक्कर र खोचहरी पारगर्दै
सुनगाभा फक्राउने
जीबनको सपना बुन्दै
छहरा र पहरामा
मुस्कान छर्न
बिहान खोजिरहेछ
बिचरा बटुवा
धाक्रे र तोक्मासगै
कैले दियालेको ओरालो
कैले सागुरिको उकालो
कैले पिलुवा र अरुणका
बगरहरुमा सुन्यतालाई रिक्ततालाई
ढाक्रेभरी बोकी
उराठलाग्दा बिभत्स बर्तमान
बोकिरहेछ
बिचरा बटुवा।

नाङिएकाछन खुट्टाहरु तुसारोले
चोइटिएकाछन कुर्कुचाहरु
प्रतेक सडक र गल्लिहरुमा
स्नेहका पोल्टाबाट
गौथलिले पठाएकी सातु
अरुणको पानीसग
गुन्द्रुक भिजाएर गरीबीसग पिउदै
उकुसमुकुस चपाइरहेछ
बिचरा बटुवा

बिन्ती !


बसन्त मोहन अधिकारी

अध्यारो गुँफा
अन्कन्टार छ ।
छामछुम छामछुममा
कयौं पटक लडे ।
भाषण र नारा
बाचा र कसम
शब्दलाई आधार मान्दा
धेरै बर्षलडे ।
आखाँ नदेखे पनि
कान सुन्छु ।
यहि अध्यारोमा
छोराछोरी हराएका धेरै भयो ।
घुम्दै फिर्दै
तिहार ! तिमी आएछौ ।
यो गुफामा
तिम्रो दियो
शान्तिको हातबाट बाल्न पाए
प्रकृती सम्पदाको
म धनी राष्ट
यै पानी पिउँन पाए
न पैसा लाग्थ्यो ।
न हात फैलाउनु पर्थ्यो ।
न म,
आखाँ नदेखेर लड्नु पर्थ्यो ।
मेरो बिन्ती लागोस्
लौ न तिहार !
शान्तिलाई डाँक
घरको दियो बालौं ।
उज्यालो पारौं ।
ताकी म,
सबैलाई चिन्न सकुँ ।
दृष्य खुट्टयाएर
सत्य असत्य
छुट्टयाउन सकुँ ।
अब म !
आफ्नै घरमा
आखाँ देखेर
हिड्न सकुँ ।

रित्तो शुभकामना


आचार्य प्रभा

खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद
त्यसैले के शुभकामना दिउँ तिमीलाई ?
हृदयमा संतापको दियो बालेर
बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर
फिक्का हाँसो हाँसी रहेछौ
दशै ,तिहारको रमझम
अब त दन्त्यकथा बनी सक्यो
भाईटीकाको आशिष र मान्यजनको
आशिर्वाद इतिहासको अक्षर बनिसक्यो
त्यसैले.......मेरा सह्रीदयिहरु हो
मैले चाहेर पनि शुभकामना
दिन सकिन अनी........
मनले चाहेर पनि
रमाइलो चाडको अनुभव पोख्न सकिन
किनकी म,तिमी ,हामी सबै
आफ्नोपन र परम्पराबाट बहिष्क्रीत
बनी रहेछौ
भावनाले सम्झेर पनि
इच्छा ,आकङ्क्षालाई
मारिरहेछौ

----------------------------------------------------------------------------------------------------------
गजल

टाढा छु परदेशमा तिहारमा आइन भाई
रमाइलो चाड बिर्सि अन्त मन लाइेन भाई

बिवसताले जित्यो मलाई परदेशमा रुदैछु
तिहारको झिलिमिली यहाँ मैले पाइेन भाई

तन छ यहाँ,मन छ त्यहा सम्झी दिन गन्दै
यो शहरको परिवेशमा कहिल्यै रमाइेन भाई

देउशी, भैलो आँगनमा मेरा पनि आए होलान
भैलो खेल्न नौलो आँगन यहाँ मैले धाइेन भाई

(अमेरिका )

लक्ष्मीका प्रसाद तिमी “देवकोटा”


सुनिता गिरी

लक्ष्मीका प्रसाद तिमी
करोडौंका स्पन्दन बनेर ,
शब्द शब्दमा छताछुल्ल छल्किएका छौ
झलमल्ल लागेको घाम संगै,
मनका खेतका गरा गरा मा बयेली खेलीरहन्छौ
बहुभाषिक मष्तिष्कमा राज गर्दै
मानव मनका पाखाहरुमा
तिम्रा प्रख्यात कृतिहरुले
समयको दाइ गरिरहन्छ
संघर्षको कुन्यू लगाउदै
प्रेरणाको पूर्ण भकारी भएर
पल पलमा डुबुल्की मारीरहन्छौ
मानव सेवा नै परम सम्झी,
सयोग र बियोगका बलेसीमा भिज्दै
आफैलाई उज्यालो ज्योति बनायौ
कविहरुका महाकवि बनायौ
ज्योर्तिमय ज्वाला बनि
सबैको हृदय माहोलमा ,
लक्ष्मीको प्रसाद भएर भित्रीयौ ।
औशीको कालो पर्दा हटाई
झलमल बनी झुल्कियौ
अमर दियो बनी सल्कियौ

हङकङ

यात्रा मिथकको गडतिरमा


टंक वनेम

मिथक हो
सावाला खोला कहाँ बग्थ्यो
खोलाको पानी
धमिलो थियो कि ? नीलो थियो
मिथकले
सप्रसंङ्ग ब्याख्या गर्दैन
तर एउटा कुरा चाहि पक्कै हो
सावाला खोला वारि पारि
मृत्युमा बिजोर बिजोर

उत्सवमा जोर नाल बन्दुक पड्किन्थ्यो
उसो हो भने
त्यो बन्दुक पड्किने थुम्का थुम्कीहरुमा
अहिले पनि
बारुदको गन्ध छर्दै
मृत्युको बिलौना र
उत्सवको हर्षित मोडमा
एउटा मिथक बोल्छ
जूनको सन्तान जूनले लग्यो
घामको सन्तान घामले लग्यो
बुझनु पर्ने कुरा
सावाला खोला मिथक हो
मिथक सावाला खोला होइन ।

मिथकका अगुल्टाहरुले कुटिएर
सावाला खोलाको गति रोकिन्दैन
मिथककै पेरुङ्गो भित्र च्यापिएर
अस्तित्वको बाजी किन हार्नु
आरेन्नी सुठी नैं सारो
कति लाउँनु यो निधारमा
उत्तरार्ध सरलीकृत भास्यटिका
कति मान्नु
त्रिकालदर्शी रहस्यात्मक कारण
कति समात्नु
इतिहास सम्मत नभएको पुत्छर
कति पालना गर्नु
धृर्त्याइको युगान्तकारी उपदेश
कति आँखा चिम्लनु
कुटनीतिक दृष्टान्तको अभ्रि्राय
कति स्वीकार्नु
नपुंसक सकाइपूर्ण अनुनय बिनय ।

बरु
सावाला खोला सून्दर बग्छ
सावाला खोलाको
अक्षत योनीमा
त्यो बृथाभिमान जन्मदैन
जसरी
पुरुषसुक्त मन्त्रले
चार ठाउँमा सृष्टिको द्धार खोल्यो
मिथक सावाला खोला हो
सावाला खोलाले कहिल्यै पनि
उकालो बग्न जान्दैन्
अब
सावला खोला
कसरी बग्दै जान्छ
सुन्नु छ
वारिपारि जोर बिजोर बन्दुक पड्केको
सुनिन्छ कि सुनिन्दैन
मिथकको आकासमा
कस्तो रंग पोतिन्छ
कृतिमताको खहरे खोलाले
प्राकृतिक बाटो लिन्छ कि लिँदैन
फेरि पनि सावाला खोला
मिथकले जन्माएको
वर्तमान हुन्छ कि हुँदैन
शुरु गर्ने हो भने
शुरु गरौं हो लुङवा !
यही सावाला खोलाको गडतिरबाट
चप्लेटी ढुङ्गामा कविता कुँदेर
यो..........अविजित यात्रा ।

यस पालिको तिहार


रत्न बहादुर घर्ती मगर

मखमली फूलको माला त्यसै सुकी जाने भो
दिदी बहिनी भेत्ने मौका अब कहिले आउँने हो ।

पोहोर साल नी निधार मेरो भाईटीकामा रित्तो भो
दिदी बहिनी घरमा मलाई सम्झेर नै दिन बित्यो हो ।

अर्को वर्ष भन्दा भन्दै गए धेरै तिहारहरु
भरपूर्ण आशा भए नी रित्तै भए सधैं निधारहरु ।

छोरो अब आउछ भनी आशामा आमा बसेकी होली
धेरै भो सुन्न नपा भाग्यमानी भएस बावु भन्ने बोली ।

साथी भाई सबै मेरो बाटो हेरी बस्या होलान्
भैलो दिउसी खेल्न भनी सबै सुर कस्या होलान् ।

म त यतै विदेशमा बस्ने भए कल्पनामा
न्यासो लाग्छ मनमा मेरो साथीभाईको सम्झनामा ।

दिदी भेत्ने आशा मेरा यसपालि नी अधुरो भो
दिउसो भैलो खेल्ने चाहना यसपालि नी अपुरो भो ।

यसपालि नी सिरानी मेरो आँशुले नै भिजाउने भो
के छ परदेशी भनी यस तिहारले नी गिजाउने भो ।

हाल यु. के.

धारहरु - जुगौं देखि काटिरहेछन्


परिहास सुब्बा

धारहरुले कहिल्यै
काट्न छाडेका छैनन् ।

हार्नेहरुले अर्को पल्ट जीते पनि
जीत्नेहरुले फेरी खेल्दा हारे पनि
जस्तै जस्तै
उकालोहरु चढ्न छाडेनन्
ओह्रालोहरु नझर्न मानेनन्
उस्तै गरी युगान्त सम्मलाई
आकारमा बद्लिए
रुप सम्म बद्लिए
तर काट्न छाडेनन् ।

हेप्पीनेहरु तात्तिए पछि
मात्तिनेहरु आत्तिए
तब युद्ध शुरु भयो
भीडन्तको निगरानी भीत्र
मृत्युहरु रहे
मान्छेले मान्छे मार्नु
कहां सम्मको मानबता हो
जब महाभारत युद्धमा
रामले रावण मारि दुनियांको मन जीते
सोच्नै पर्ने भो
अमरसिंह हरुले ईतिहास भीरे
उसै गरी ।

धारहरु हिंसा सँगै पनि बाँचीरहे
अरु अरु मरिरहेको बेला
अन्ततोगोत्व
धारहरु धार नै रहिरहे
अमरिसंह जस्तै
राम हरु राम नै रहे
धारहरु जस्तै
सिर्फ रुपमा बद्लिए
आकारमा बद्लिए
तर
युगान्त सम्मलाई धारहरुले
नकाट्न मानेनन्
काट्न छाडेनन्
बस् जुगौं देखि काटिरहेछन् ॥

मैले चिनेन कि


पुरुशोत्तम सुबेदी

हरी हरी मैले चिनेन कि -ठेट नेपाली होइनौ कि
पैसा पाय देसै बेच्ने -नेता भय जनतै भुल्ने
हरी हरी मैले चिनेन कि देसका नेता होइनौ कि

कसो गर्दा के हुने हो केही थाहा छैन
राजनीतिमै बुढा भयौ देसमा सान्ती छैन
हरी हरी मैले चिनेन कि देश द्रोही पर्यौ कि

धन को लागि मान्छे काट्ने
मिठा कुराले मान्छे ढांट्ने
सपथ खांदा हिन्दी बोल्ने

हरी हरी मैले बुझिन कि नेपाली भासी होइनौ कि
बिदेसिको बुइमा चढि अस्थिरता ल्याउने
दानवका आम्ने साम्ने उन्कै गुण गाउने

हरी हरी बूश लाई चिनेनौ कि राजनीतिज्ञ होइनौ कि
कोशी बेचेउ काली बेचेउ -बेचेउ टनकपुर
भागने कुम्लो बोकी सक्यौ -भैसकेउ बेसुर

हरी हरी मैले बुझिन कि - तिम्रो भागने ठाउँ छैन कि
जंगल बेचेउ बुटी बेचेउ -बेचेउ मुर्ती पनि
राता टिका लाउदै गर्छौ -मै हुँ हिन्दू भनी

हरी हरी मैले बुझिन कि असली हिन्दू होइनौ कि
मैले चिनेन कि राष्ट्र प्रेमी होइनौ कि
मैले चिनेन कि धोकेवाज रहेछौ कि

गजल


भूपेन्द्र महत

मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौ
डुबानमा छु आज भोली फेरी दर्की दियौ

आबरणमा अबतरण दोष आफ्नै हो कि
नौनी जस्तो लागथ्यो छाती भरी चर्की दियौ

हतारमा के थियो भोक थियो कि भोग
फुको फाँको यस्तै निल्न खोज्दा सर्की दियौ

आस्थाको सहयात्रा सहज थिएन क्यारे
यात्रामा एक्लै पारी बिच बाटो फर्की दियौ

मनको दैलो मैलो भयो दिल अन्धो कस्तो
अनुरागमा दाग थेन फेरी झर्की दियौ

अन्तिम गीत


स्यानु पाईजा

लाउड स्पीकरमा दु:खको गीत
मिठो संगीतमा चर्को गरि बज्यो
गायकले दुखका शब्द खोजेर गायो
सबैले मुस्कान फिजाएर नाचे
दु:खमा पनि नाँच्न सक्ने हामी नेपाली
गीतको बोल थियो, कालापानी हाम्रै हो
गीतको बोल थियो, सिस्ता हाम्रो रोयो
गीतको बोल थियो, बुद्द हरायो
सन्सारकै एक मात्र देश जो कसैको दास बनेन
साम्रराज्य दुई हारे जिउँदो शान नेपाल हाम्रो
हामी जीतको उन्माद मै देशको बिकास गर्न बिर्सेछौ
कहिल्यै नझुक्ने सगरमाथाको शिर लिएको देश
खै कहाँ निउरिएको छ निउरी मुन्टे नको टाउको
कुन ज्योतिले हेर्ने, अध्यारोमा जुनकेरी
कहिले दुल्छ, या मेध गर्जनु पर्छ ?!!!!
देश बिमारीको दबाई गर्न नसक्दा
डाक्टर हरू औषधीको कमिशनमा थुक निल्दै छन
सगरमाथालाई हिऊ पगाल्ने कस्को समार्थ्य ?
स्वतन्त्रता बेचेछौ, नदीनाला बेचेछौ
युवा जमात बेचेछौ, चेलिहरु बेचेछौ
सगरमाथाको शिर कहिल्यै नबेचौ ।
आमाले नवजात शिशु भरखरै जन्माउनु भाको छन
वजात शिशु नबेचौ, उस्ले गाउने यस्तो गीत लेखौ
जहाँ शब्द खुसीको होस, संगीत मिठो होस
जस्को तालमा सारा देश, मुस्कुराएर नाँच्नसकोस
हेर्ने लाई राम्रो लागोस, सुन्नेलाई राम्रो लागोस
दर्द बोकेको गीतमा कोहि मस्केर ननाँचो
सयो दु:खको गीत अन्तिम गीत हुन पर्छ ।

मेरो शहर.............


दिलिप योन्जन

सागुरो बाटोमा भब्य-भब्य घर छ
नपाइने केही छैन, सबै पाइन्छ
पैसामा मत्रै.................?
असख्य नि:सहाय छन्
भोक र रोगले तड्पेका छन्
वेदना र पीडा बोकी बाँचेका छन्
धर्ती ओछ्यान आकास सिरक बनाएका छन्
बाँच्ने आसमा माग्दै हिडेका छन्
सस्तो केही छैन, सबै महङो।

टोपी खस्ने महल छ
मान्छे बेच्ने दलाल छ
प्रशासनको रबाफ छ
रबाफ र दलाल बीच कमिसन छ
दुबैले मस्ती लुटेको छ
मेरो शहरमा सब थोक छ
पैसामा मात्रै....................?

फालेको भातमा लडाई छ
पाटी र फुटपाथमा घर छ
औषधि उपचार बिना मरेको छ
बाँच्ने आसमा दौडेको छ
भोकले मातेर हावा चपाउदै
यहाँ यस्तै छ................?
सबै छ
पैसामा मात्रै...........?

खुलेर हैन प्रशासनको आडमा भित्र भित्रै छ
सिसै सिसाको घर छ
भोकै र नाग्गै देख्दा हाँसेको छ
कतिले तस्बिर बेचेको छ
बिदेशी........गरिबी देखेर हाँसेको छ
थरि थरिका फोटो खिचेको छ
मेरो शहरमा सब थोक छ
पैसामा मात्रै...........?
जाडोले काम्दै छ
गर्मीले पाक्दै छपानी झरीले भिज्दैछ
हावा हुरीले पुरिन्दैछ।

सक्ने बाँच, नसक्ने मरे
बेवारिस लास
ठेलामा डुमले फ्याँकेको छ
चिल र स्यालको होडबाजीमा
छिपिएको हड्डी बाँकी रहे
यहाँ यस्तै छ..............? अनि सबै थोक छ
पैसामा मात्रै...........?
न त शहरबासीलाई मत्लब छ
न त सरकारलाई मत्लब छ !

साँगुरिएको सडकहरुमा
बस र कारको भिड छ
पोलुसनको बढ्दो चाप छ
नाङो फेसनको बढ्दो माग छ
मंहगीले घोडा चढेको छ
पि र जी को बढी माग छ
केटा केटीहरु नाग्गै बन्ने होड्बाजी छ
यहाँ यस्तै छ.........?
अनि सबै थोक छ
पैसामा मात्रै...........?

कती भोक र प्यासले अलास तलास छ
बेदना र पीडाले जलेको छ
रुने र कराउने सिबाय केही छैन
जाडो गर्मी भन्नु पाइदैन
यहाँ यस्तै छ........? अनि सबै थोक छ
तर यहाँ धेरै खाली पेट खाली हाट र खुट्टा छ
बोराले आङ र लाज छोपेको छ
मेरो शहर यस्तै छ
झन् झन् बिकृति बढिरहेछ
धुवाँ र धुलोले पुरिदैछ
गरिबीले सगर्माथा टेकेको छ
मेरो शहर यस्तै यस्तै छ।

अस्टिन, अमेरिका

भाईटीका


सुनिता गिरी

आँखा भरी आँसु छल्किएको बेला
मनमा नमिठो अनुभुतिको हावा चलेको छ ,
रुवाइका हिक्काहरुको गाँठो परेकेाबेला,
दशैको पीडा सकेर हीजो आज,
फेरी यो तिहार भित्रीएको छ
प्रदेशको पीडा भरी दुखी रहेका मनहरु
हरेक तिहारहरुमा सयपत्री र मखमली
मन भित्रै ओइलाईरहन्छ
सम्झीएर अतितका बिहानीहरुलाई
पुर्व दिशा फर्काएर राखिएको गलैचा माथी
दाजुभाई पलेटी कसेर बसेको
यमराजलाई बाटो छेक्न,
दैलोमा ओखर फुटाएको आवाज
कानमा प्रतिध्वनि बनेर गुन्जिरहेको छ
हरीयो गोबर ले लिपेकोको भुइमाथी
रेखीले कोरीएका बुट्टाहरु ,
थालीमा सप्तरङगी टीका
अनी रङगाइएका कलशहरु,
किस्तिभरीका किसमिस संगै
सेलरोटी र मिठाइका स्वादहरु,
ढाकी भरी चुलिएका
सयपत्री र मखमलीका माला हरु,
राष्ट्रियता झल्काउने ढाकाका टोपीहरु,
आफनोपनको न्यानोमाया झल्काउने, गलैको गलबन्दी
खै कसरी बिर्सनु र मैले,
पाईला पाईलामा यो तीहार दुखी रहेछ
तै पनि हृदयबाट आर्शिबादका बर्षाहरु,
आरोग्य र दिर्घायूका भेल हरु उर्लिरहेछन
भावनाको पोल्टाबाट चिरन्जिबी दियो बाल्दै
सुस्वास्थ र सफलताको शुभकामना बर्षउदै
देशबिदेश छरिएका नेपाली दाजुभाइलाई
हार्दिक शुभकामना
यही नै हृदयको चाहना !!!
हङकङ

शान्ति दियो


सुनिता गिरी

मायालु की खानी तिमी हृदय की रानी
अंजुलीमा खुशी बोकी जीउँछु जिन्दगानी
सफल्ताको शिखर चढ बाधाहरु हटाइ
निराशालाई छेउ लगाइ आत्म बल बढाइ

मतिष्कको पन्ना भरी खुशी बनी छाउ
बसन्तको बहार बनी मन मन्दिरमा आउ
निस्वार्थ र उदारतामा रमाउन सीकौ
मनको कालो पखालेर प्रेमबादमा झुकौ

प्रेमले नै संसार जित्छ ,प्रेम दियो बाल
विश्वासको विरुवालाई मुटु भित्र पाल
लहराउछ हाम्रो आँचल छोपी कालो रात
सानो ठुलो कोही छैन बाचौ एकै साथ

एउटा बाट हजार दियो सल्काउन सिकौ
मन भित्रको भावनालाई फिल्टर गरी झीकौ
जग्मगाउदो ज्योति सरी हाम्रो जिन्दगी यो
जिवन झल्मल पार्दै बल्छ , हा म्रो शान्ति दियो ।

हङकङ

गजल


राकेश कार्की

माया साँच्दा साँच्दै कतै कुहिने पो हो की
मुटु अठ्याउँदा अठ्याउँदै चुहिने पो हो की

दिन, हप्ता, महिना, साल सबै बितिसक्यो
खुशीयाली जन्मनु अघिनै तुहिने पो हो की

आँधी, बतास, असिनाले हिर्काउँछ घरी घरी
अगाडीको फूलको हाँगा जस्तै नुहिने पो हो की

पर बाँधेको आफ्नो बाछालाई टुलुटुलु हेर्दै
रोईरहेकी निरीह गौरी झैँ दुहिने पो हो की

लस् एन्जेलस्

सेकेन्ड् हयान्ड कबिता


टेक थजाली मगर

मैले नदेखेको
नलेखेको
नसोचेको कबिता
अचानक मेरो समिप आईन्
मधुर मुस्कान
मिठो बोली
लामो कपाल जिउ पनी मिलेको
हातमा कपिको पाना थियो
खोसेर पढे
पाउने ब्यक्तिको नाम मेरै
जहाँ लेखिएको थियो
कुनै बटुवाले थुकेको थुक हुँ म
तर्किएर आफनो बाटो हिड्नु
बिहोसिमै तिम्रो आगनमा आईछु भने
पागल्नी! भनेर धोका बन्द गर्नु
समिपको कबिता म देखी भागी
त्यसपछी
कबिता अघी-अघीम पछी-पछी
गन्तब्य बिनाको यात्री जसतै
म कराए! भौतारिए!!
दर्शक दिर्घाहरु
कसैले गिज्याए!कसैले ताली बजाए!!
दुनिया यसरी हास्यो
साले! गधा!! हरामी!!! पागल!!!! यस्तै गालिहरु
गुञ्जिरहे कानमा
नजवाफ म
कसैको उपमा सुनिन
बस,कविता र कबिताको सायरीमा
अर्थ र कारण खोजे
मेरो हिडाईको गतिलाई
अझै अगाडी बढाए
एकान्तमा कबितालाई
भेट्न सफल पनी भए
लोचनको बनेलीमा
रुदा-रुदा आँशु रित्तिएको थियो
पानी बिनाको माछी झै
सुकेको रैछ चेहरा
मलाई पछुतो भयो
त्यो उकाली-ओराली
त्यो चौतारी त्यो देउराली
त्यो हरियाली
हिमाल,पहाड,तराई
सबै जस्ताको त्यस्तै लाग्छन्
तर कबिताको गुनासो अर्कै थियो
बिन्ती मलाई माया नगर
म तिम्रो हुन लायक्की छैन
मत केबल सेकेन्ड् हयान्ड
सेकेन्ड् हयान्ड कबिता हुं
सेकेन्ड् हयान्ड
प्रयोग गरिएको र फ्याकिएको
बल्ल,बल्ल सवालको जवाफ पनी पाँए
तर भन्न मन लाग्छ
ठिकैछ!
यदी तिम्रो लागी म फस्ट हयान्ड हुं भने
आई लभ यु सेकेन्ड् हयान्ड कबिता


झिँ-८,म्याग्दी,हाल;यु,ए,ई

गजल


भूपेन्द्र महत

अबमुल्यन भा'छु म त, मोल खोजछ्यौ तिमी
भासिएको गला न लय, बोल खोजछ्यौ तिमी

सल्केर मुटु डढेको मनमा पिडा छ कती
सुकेको छाती निचरी, झोल खोजछ्यौ तिमी

हल्लाको मान्छेहरु हल्लामा हांसे हल्ला गाँसे
हल्ला नछिर्ने कुन बस्ती टोल खोजछ्यौ तिमी

जिबनका खातामा भत्किएका सपना छ किन
खोलेरै भित्री पाना बाहिरी खोल खोजछ्यौ तिमी

समुन्द्रको लहरले छुन्न अत्यास त्यो प्यास
तैपनी चिनी पानीको गुलियो घोल खोजछ्यौ तिमी

मतलबी मान्छे


स्यानु पाईजा

मिठा मिठा शब्दले म तिमिलाई
कति माया गर्छु भन्ने पारे पनि
तिमीलाई मेरो प्रतिक्षा नगर्नु भन्ने मै नै हुँ ।
जिवनको भरोसा छैन फर्कने टुङ्गो छैन
मेरो सम्झनामा नरोऊ भन्ने मै नै हुँ।
खै के को अल्झन हो फेरि मनमा अल्झेको ?
साहेद म मेरो जिवनको एक्लोपनमा
तिम्रो मायालु साहारा पाउन ललायित भए हुँला।
मेरो मन मा फेरि कुन स्वार्थ जागे होला
कयौ पालुवा फेरेको तिम्रो मन
मेरो सम्झनाको काया पनि मरे होला ।
मायाले हेर्ने आँखाहरुमा कुनै आँखा मन परे होला ।
हामीले गरेका बाँचाहरु भुल्न धेरै बर्ष लागे होला
तिमीले ब्यक्त नगरेका पिडाहरुको कल्पना गरेर
म कति तिम्रो नजिक थिए भन्ने पार्न खोज्दैछु ।
या त तिम्रो ईमान्दारीताको पर्दा मा मैला छर्न खोज्दैछु ।
यो मतलबी दुनियाँको मतलबी मान्छे म
मलाई ग्लानी भैरहेको छ ।
एक्लो जिवनको दुखद पल हरुमा
तिम्रो सम्झना आईरहेको छ ।

ममताको मुटु


टेक थजाली "मगर'


उषा अनि गोधुली बिच प्रभातको भलाकुसारीमा
चन्द्रमा र चाँदनी देखी लुकेको छैन म
अनुपम आमोद-प्रमोद जिवन रेखा परिधीका साथ
बिवश आँशु र पसिनासँगको मितेरिमा
अंजुलीको मनसुन यामलाई भुलेको छैन म
पहाडमाथि कोरिएका प्रगतीपथका सुस्केराहरुमा
हिम खोलीको कन्चन जलनै आहाँ
संरक्षक बिहिन पहिरोले पुरिरहेकी सायद
चञ्चल सागरको बाधलाई अँ हँ तोड्न सकेको छैन
बिस्मातको आगोमानै जल्नु किन नपरोस
गगनको झर्नालाइनी कुर्नु छैन
लाग्छ,अवशर र चुनौतीको संगम हो जिवन
त्यही जिवन धुवा र अल्कोहल सित उदाएर
अबिनाशी बैमनस्य पवनहरु पनी भेटेको छु
छलेर जानुत सृष्टिको रिती
अजम्बरीको कुरा त कहा गर्याछु र ?
उफ! तिलाञ्जलीको नदी बग्नु नै पर्छ
अझै नियतीको रेखापनी कोरेको छैन
मन मझेरीको भकारीमा यादहरु थन्काएर
ऐश्वर्यको लागी अर्चना पनी गरेको छैन आजसम्म
कल्पित छु म ममताको मुटुनै हो लहना
ममताकै मुटु साति कुसल नै छु
गन्तब्यको यात्रामा बिशालु काँडाले लगाएनी पर्म
समयको आरोह अबरोहहरुमा घस्रिनुनै पर्छ
तिरस्कार गर्नु यानेकी भन्नु यो त झेलीपन
चिर निन्द्रामा बिश्रान्ती पाउनु पर्दा
आखिर आचल तिम्रै फर्कनेछ यो मान्छे

झिँ-८,म्याग्दी,हाल;यु,ए,ई

गैर जिम्मेवार


पुरुशोत्तम सुबेदी
नेपाली मन छन कती घमन्डी -कतै दु:ख कांही ह्युस्की बरान्डी ।।
कोही झुप्रोमा खोले छैन - कतै भोज भातेर छ -
सधैं धन को पछी कुद्ने - जन ले कसलाइ टेर्छ -
शोषक जती पाखा सरे - मुर्ख अघी सरे -
कायर जती सबै भागे - सत्जन सबै मरे -
बिर्सि सक्यौ आफन्त पनि - सबै भन्दा ठुलो हो धन भनी ।।
-
आफ्नै बिचार उचित ठान्ने- मै राम्रो हुँ भन्ने -
धन र बलको घमन्डले -कोही कसलाइ न गन्ने -
पहाड मधेस यऊटै भुमी -नाप्दै छन दुई कित्ता -
सौताकोरिस पोइको काखमा -राम्बरण लाई चिट्टा -
जनता लाई नगर हेलां -छेउको सियो माझैमा कोही बेला ।।

गरिविले सिमै नाघ्यो -उर्ल्यो मंगाइ झनै -
तस्करलाई कन्ट्रोल गर्ने -छैन सिस्टम कुनै -
अपहरण फिरौतिले - नेटै काटी सक्यो -
प्रशासन ले कानमा बुजो -लगाइ लुकी बस्यो -
कस्ता सासक परेछौ कुन्नी - जन आवाज कोही पनि नसुन्ने ।।
.
कोही भन्छन जनतन्त्र -कतै मधेस हाम्रो -
कोही भन्छन पार्टी राम्रो -कोही जाती हाम्रो -
कतै माग्छन गाई को भतेर् -कतै हिन्दू राज्य -
कोही भन्छन बुद्ध हाम्रो -कतै मन्दिर हाम्रो -
भात्काउन लाई सजिलै भयो -नया नेपाल बनाउन धौ भयो ।।

कतै बन्दुक मुसार्दै छन - संझौताको सान्ती -
न कोही कसको मलामी त-न कोही कसको जन्ती-
धनको झोकले बाउ लाई खुर्पा -गाउले लाई कसला -
गृह युद्ध हुनै थाल्यो - राजनिती म स ला -
ढुङ्गा टोक्ने मन रैछ तिम्रो-गाई लाई पराल भैंसिलाइ कुटिम्रो ।।

कोही कतै च्याउ छोडेर-घिउ भात खाने भय -
चर्का नारा बेतुक संझी -धेरै मुग्लान गय -
मुग्लान पसी धनको धाक मा -नेतै नेता भय -
मुर्ख बुद्धी घमन्डी मन -कसको होला जय -
कुत्ता सरि यक बार को जूनी फ्याम्ली संग भेट कहिलेइ नहुने ।।

घिउ खानेको हातको लगाम -गाइ खानेको हातमा -
नयाँ नेपाल बनाउने रे - कौडी छैन साथमा -
नारा पर्‍यो उत्तरको - मेल कतै खांदैन -
थर्काइ लुटि खाका सबले -त्यो बानी जादैन -
तिम्लाई मस्ती जनता लाई चटारो -आय आप गय त्यै झटारो ।।
-
बेल्जियम

'भाई टिका


आचार्य प्रभा

मनको फुल्बारिमा मक्खमली र सयपत्री फूलाएर
म कल्पनाको चोखो धागोमा आशिषको माला
उनेर उपहार तिमीलाई पठाउनेछु
मेरो भाई ,
धैर्य गर तिमी दिदीको आशिष
सदा अटल रहनेछ
भौगोलिक दुरी टाढा भएर के भो ?
नियालेर हेर पारी क्षितिज
इेन्द्रेणिको रंग तिम्रो निधारमा
सजिएको पाउनेछौ
हो........त्यही क्षितिजलाई
म मेरो प्रतिनिधि पठाउदैछु
एउटी दिदीको कल्पनाको रंग घोलेर
ननिभाउनु कहिल्यै तिमीले
मनको दियो ,
पुरा होस् तिम्रो लक्ष जे थियो
आशिष यही पठाउदैछु म
भाई टिका सम्झी
परदेशमा आँखा रसाउदैछु म
(अमेरिका )

प्रेम


बिमल गिरी

जीबन को यो एक
श्रृंखलाबद्ध यात्रा
अनौठो र अनन्त
दुई हृदयबिच मिलनको बिन्दु
बिसिष्ट र बिशाल गहिराइ
कहिले गन्तब्य एउटै
कहिले फरक
कहिले हावाको उच्छवास सँगै
भित्री मुटुको तह सम्म पुग्ने
स्निघ्ध यात्रा
पवित्र बस्तु प्रेम हो र पर्खाल
दिगन्तसम्म रहने यात्रा हो
अलौकिक आनन्द हो
र प्रेम बिम्ब हो
प्रेम निशाना हो
प्रेम पल्लवित पुष्प हो
स्वर्गिय आनन्द हो
प्रेम अबिरल बगिरहने
सुन्दर झरना हो
निर्मल खोला हो,निरन्तर बगिरहन्छ
बिहानीको सुर्यको
सुन्दर र मनोरम किरणसँगै
प्रेम,जीबनका आस्था
बसन्तले उमार्ने बैश
सभ्यताको प्रतिक र जिन्दगीका क्षणलाई रङ्गाउने
बस्तुहो प्रेम
हृदयको घनत्व नाप्ने
आस्थाको मापदण्ड हो प्रेम
मनको आयतन भित्र प्रतिबिम्बित भई
असन्तुष्ट र अपमानित खाल्टोलाई
सम्याउने अभिन्न
अलङ्कारीक बस्तुहो प्रेम।

घर देश चारपाने झापा परदेश बेल्जियम

प्रदेशिएका मनहरु


पुरुषोत्तम सुबेदि

प्रतिक्षा गदै बसेकि होलिन
बन पाखा कुरेर...
बिछोडले आसु रित्तिए होलान
दिन रात रोएर...
झझल्को लाग्छ दिनरात मलाइ
मन बुझाउ कसरि...
अतितका दिन कल्पिदि होलिन
रोइ होलिन बेसरि
प्रतिक्षा गरदै बसेकि होलिन
बनपाखा कुरेर
बगेका होलान आशुका धारा
हृदय फुटेर...
बसेकि होलिन सुस्केरा हाल्दै
चौपारि कुरेर...
मन ढुक्क गरि बसे है प्रिय
आउछु म फर्केर
बिबसता परयो बिछोड हुने
नरोए धर्केर...
प्रतिक्षा गदै बसेकि होलिन
बन पाखा कुरेर...
मखमले चोलि फाइबरको साडि
क्या राम्रो सुहाउने
कल्पना मात्र गरेर बस्दा
मन त्यसै रमाउने...
मनको लड्डू घीउसग खादा
जिन्दगि यस्तै भो
धोबिको कुकर घर न घाटको
जिन्दगि त्यसै गो...
प्रतिक्षा गदै बसेकि होलिन
बन पाखा कुरेर
बिछोडले आसु रित्तिए होलान
दिन रात रोएर..................
बिछोडले आसु रित्तिए होलान
दिन रात रोएर..................

हाल बेल्जियम

गजल


आचार्य प्रभा

उकालीमा तिम्ले हात दिइ अघी बडायौ
आखिर तल झार्नलाई भुइमै लडायौ

कहिले घाम ,कहिले पानी रैछ तिम्रो बानी
कहिले झार्यौ फेदमा,कहिले माथि चडायौ

नानाथरी रूप फेर्दै नौटंकी नै हिजो गर्यौ
बस्न दिइ मनको घर,किन आँफै डढायौ

आकर्षणको बुट्टा भर्यौ प्रत्येक बोलिमा
अरुलाई बास नदिइ, महल ठडायौ

(अमेरिका)

गीत

वेन सुयाल "वेनु"

जति ठुलो छाती हुन्छ उति ठुलो मायाँ
सधै सधै दिगो हुन्छ जस्तै घाम छायाँ

न त दाग्छ आगोले नै न त सुकि जान्छ
न त चोरी लान्छ कस्ले न त हराउँछ
अजर अमर भैदिने कस्तो होला मायाँ
सधै सधै दिगो हुन्छ जस्तै घाम छायाँ

धुकधुकीको तालमा सधै संगीत वनि दिन्छ
जीवन गीत गाउँदै गाउँदै साथ संगै हिड्छ
साथ साथै हिड्ने कस्तो होला मायाँ
सधै सधै दिगो हुन्छ जस्तै घाम छायाँ

बन्धकी हाँसो


आचार्य प्रभा

उत्कट अभिलाषाको कमारो भएर होइन
जिउने आधार खोज्न
म,
आफ्नो भुगोलरेखाको सीमाबाट
बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह
किन थिएन र ?
अनी.........सेता अग्ला हिमालहरुको
दृश्यले किन मोहित थिइन र ?
तर.........फूलको सौन्दर्य र सुगन्धले
गाँस पुग्ने भए,
हिमशिखरको काखमा बास टर्ने भए
शायद.........मैले जिउनुको अर्थमा
लक्ष्मण रेखा पार गर्ने थिइन
म मान्छे,
आफु बाँचेर अरुलाई पनि बचाउनु छ
बचाउनुको आशयमा बांच्ने आधार खोज्नु छ
त्यसैले........बलियो आधारको खोजिमा
म आफ्नो भुमीबाट अलग्गिएकिछु
मलाई दलान र बलेशिको आनन्द
किन थिएन र ?
अनी करेशाबारी र खेत्बारिको
झझल्को आँखामा किन छैन र ?
तर..........दलान र बलेशी नै
आजभोलि पराइ ठान्नु परेपछी
करेशाबारी र खेतबारी नै बन्धकमा परेपछी
शायद.......म,
अर्को श्रीजनाको अर्थमा
पराइ बनेकिछु
मेरो बन्धकी हाँसो उकास्न

हावा बनी


दिलिप योन्जन

हावा बनी छोउ की तिम्लाई
झरी बनी भिजाउ
तिमी बसेउ मुटु माँझ
मन कसरी बुझाउ।

लुकु-लुकु जस्तो लाग्छ
फर फराउने केसमा
चुमु चुमु जस्तो भाछ
गुलाबी त्यो ओठमा।

घाम बनी छोउ की तिम्लाई
जुन बनी लुकाउ
तिमी बसेउ मुटु माँझ
मन कसरी बुझाउ।

गाजालु ति आँखा भित्र
बास बस्नु पाए हुन्थ्यो
सुख सान्ति सधै दिन्थे
जन्म२ साथ दिए पुग्य्यो।
फुल बनी सजाउ की तिम्लाई
बास्ना सम्झि सुगुउ
तिमी बसेउ मुटु माँझ
मन कसरी बुझाउ।

अस्टिन अमेरीका

मेरो आंगनमा दसैं पर्व


पुरुशोत्तम सुबेदी

पहेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो ।
मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।।
पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो ।
पाखा बारीको लिंगे पिङ् मा साथी भाई संग टिका जमरा लगाइ रमाउने हो ।।
भाई गोरे पनि घरमा भय त रमाइ रमाइ खेलिन्थ्यो होला ।
बैरी ले बेपत्ता पारेकै ४ बर्ष भयो खबर दिय त काज किरिया गरिन्थ्यो होला ।।
न त गोरे ले कुनै प्रती उत्तर दिन सक्यो उसका आफन्त हामी लाई ।
बैरी ले शरम मान्यो बताउन यथार्थता साचियो काम मलामी लाई ।।
नौलो जनबादको कुरा गर्दै भाई गोरेले- थोत्रो बन्दुक मा तेल मुसार्दै भन्थ्यो ।
दसैं मा आउछु होला दाजु भर त छैन -जे होस् म नभयपनी मान्नु दसैं भन्थ्यो ।।
बहिनी पनि सिंह दरवार किल्ला भित्रै को माटामुनी- बाट सराप्दै छे होली पापी हरु लाई ।।
गल्ती के नै थियो र उसको अधिकार को लागि- आवाज बुलन्द गरेकी थीइ समाज लाई ।।
बैरी बैरी को भेट भयो- होला मिला पत्र पनि- आसा के नै गर्नु छ र बिकासको ।
चोरै चोरको रग रगी छ देसमा अहिले -चिट्टा पर्‍यो देस लाई बिनासको ।।
न भाई गोरे न बहिनी बाटुली काग लाई बेल झैं जन गणतन्त्र अधुरो हुने भयो ।
हरेक बर्ष आउने चाड बडा दसैमा भाई बहिनी संग रमाउने आसा अधुरो रह्यो ।।


बेल्जियम

गजल


आचार्य प्रभा

दसैं तिहार आए अब सस्कार अनी रीत बनी
देउसे भैलो घुम्न थाले, तिहारको मीठो गीत बनी

भेट,घाट रमाइलो र मेवामिस्ठान् भोजन गर्दै
खुशीयाली छर्न थाले ,एकर्काको हीत बनी

भेट,घाट गर्ने क्रम को बल्ल तल्ल चाजो मिलाई
दु:ख, सुख बाड्न थाले ,एक-आपस को मीत बनी

बिरहमा कती रात, अनिदोमै सबले काटे पनि
आँशु पनि खुशी बनी झर्यो ,बिहानिको शीत बनी

(अमेरिका )

गजल


आचार्य प्रभा

फुले होलान ढकमक्क बगैँचामा मखमली
त्यही फूलमा देख्दैछु म भाईको मुहार झल्झली
-
टाढा भयौ त के भयो ?सम्झना साथै छ
बढीरहोस् तिम्रो मनमा तिहारको दुबो हल्हली
-
कस्तो होला यसघडी बिदेशमा भाईलाई
झार्दै होला पसिना परदेशमा खल्खली
-
नजिक भए बिताइन्थ्यो चाडबाड हासेर
सजाइ दिन्थे निधारमा सप्तरङी टीका टल्टली
-
(अमेरिका )

गजल


भूपेन्द्र महत

मन भरीका रहर ओठ भरी डुलुन्
बसन्तको सुबास वरि परी घुलुन्

जमरा झै शान्ती मौलायोस अधरमा
आशाका कोपिला सुगन्ध छरी फूलुन्

तेरो मेरोको घेरो,नपाल अंधेरो,अतिसारो
सदभाबको ज्योतिले बिभेद तरी झूलुन्

मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो
बिकारका तुष सपनामै टरी भूलुन्

आस्थाका देव देवी विश्वाशमा जागा छन्
कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन्

आशिष थापी निधारमा आधारको टिका
बिजय श्री तिम्रो,खुशी घरी घरी फुलुन

लेण्डुपहरु


कृष्ण प्रसाई

देशमा विभिषणहरु ज्यूदैं छन् ।
देशमा जालन्धरहरु पनि छन् ।
जे जति अर्जुनहरु छन्-
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन् ।
र पश्चतापको भाषामा-
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी-
अव कसैगरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको -
उनले चाहेका भए ,
विगतमा पनि -
युद्ध टल्न सकिन्थ्यो भनेर ।
निरीह धृतराष्टहरुले -
पहिला पनि कहाँ सिमाना देखेका थिए र !
सञ्जयहरु पनि हड्तालमा जुटेका छन् -
उनीहरु अव,
कुनै अन्धाको पाउभक्तिमा,
आफ्नो समय उत्सर्ग गर्न चाँहादैनन् ।

चाँहादैनन्-
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नासियोस् ।
दाउको राजनीति छोडेर,
सकुनी पनि सुध्रिएका छन् ।
सभ्यता टिकिरहनु पर्छ भनेर-
दुर्योधन सत्संगमा भिजेका छन् ।
इच्छा छैन कसैलाई-
अव कुनै युद्ध चम्कियोस-

खरानी बनोस कुरुक्षेत्र ।
म चौतारीमा वसेर,
तल हेरिरहेछु -
मेरो देशमा,
हस्तिनापुरमा नभएका-
केही लेण्डुपहरु छन्-
केही लेण्डुप हुन खोज्दैछन्-

भरखर जन्मेका केही लेण्डुपहरुलाई,
साना नानीहरु-
पुतला बनाएर जलाउदैछन् ।
अनामनगर, काठमान्डौ

'परदेशिनुको पीडा


आचार्य प्रभा

सयपत्री मखमली ,गोदावरी अनी चमेलिसँगै
मेरो आगन रमायो शायद
दुबो अनी अक्षतामा दशै तिहार
जग्मगायो शायद,
म भने ---झ झल्को आँखाभरी सजाएर
परदेशी हुनुको पीडाबोध सहिरहेछु
साँझको नभलाई चिहाएर
मान्यजनको आशिषको कामना मागिरहेछु
त्यो देवी थान,
लिङेपिङमा आफ्नो बैँश साटेर मचियो होला
त्यो गाउँको गोरेटो
आषिशको टीका र जमराले ढाक्यो होला
अभावको भकारीमा जमरा टुसाए शायद
बर्षौ बर्ष हराएको खुशी
लालुपाते ओठ बनेर मुस्काए होलान
म भने,
सम्झना मनभरी पालेर
टाढा हुनुको आघात खपिरहेछु
पारी क्षितिजलाई मेरो आगनको
पर्याय मानेर
जुन ,तारा झलमल्ल कल्पनामा
सजाइरहेछु
(अमेरिका )

आहा ! दशै


सुनिता गिरी

जताततै हर्ष हर्ष दशै आउँदैछ
प्रकृतिले मानव संग प्रीत लगाउँदैछ
न छ जाडो न छ गर्मि सुख छाउँदैछ
घर दैलोमा सिगारीदै दशै आउदैछ
आकाशको टहटह जूनमा छायाँ हेर्दै
बाडी पैरो बाटो लाग्यो नयाँ रेखा कोर्दै
सुख शान्ति उल्लासमय बोकी दशै आयो
प्रदेशीले घरमा जाने बल्ल छुटी पायो
संस्कृतिलाई जोगाउँ हामी शान्ति दियो बाली
बाटो हेर्दै होलान घरमा लगाई हातको पाली
छाती भरी पोको पारी गाउँघरको माया
उफ्रीउफ्री आउँछु आमा टेक्दै आफनै छायाँ
निधारमा लगाइ टीका ,आशिष शिरै भरी
दुख पिर बाधा अड्चन हटाइ खुशी सरी
जान्न अब झोला बोकी प्रदेशको बाटो
आमा तिम्रै आशिष लीइ सजाउँछु यो माटो

हङकङ

नेताको नयाँ दाऊ




स्यानु पाईजा

नयाँ पार्टी खोलौ
नेपाल बेरोजगार पार्टी
कार्यकर्ताको के कमी?
पुरै नेपाल बेरोजगार छ
हाम्रो जित पक्का छ
कलकारखाना बन्द गराऔ
कामदार हरु बेरोजगार हुन्छन
हाम्रो कार्यकर्ता बढ्छ ।
जताततै हडताल मच्चाउ
अशान्ति फैलाई देउ
दुई को होईन दशलाई मार
शहिद धोषणा गरौला
क्षतिपूर्ति मागौला
हाम्रो पार्टीको नाम, गुण नाम
टिभीले फुक्छ ,रेडियोले फुक्छ।
अनि त के ? हामीले नै हो
भबिस्यको नेपाल हाक्ने
तपाई राष्ट्रपति पक्का
उप-माथी सह-उप थपौला
बिशिष्ट, बलिष्ठ, तन्दुरुस्त, जागरुक
नाना थरी पदहरु सृर्जना गरेर
एउटा न एउटा त पक्कै बनाउला
युवा देशको शक्ति हो ।
युवा शक्ति संगठन खोलौ
रेलिङ भाँच्नु लगाउ
दयाम् दयाम् कुत्ने तालिम दिऊ।
यहाँ यति नगरि त को नेता बनेको छ?
दुई ,चार बैक लुटौ, दुई, चार अपहरण
जसरी हुन्छ नयाँ पार्टी खोलौ
नेपाल बेरोजगार पार्टी

पात्लेखेत-७, म्याग्दी

गजल


भूपेन्द्र महत

रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस

गजल


आचर्य प्रभा

यस्पालिको दशैमा आउन पाइेन
निधारमा अक्षता लाउन पाइेन

परदेशको जीवन यस्तै हुदोरैछ
हरियाली बसन्त झै छाउन पाइेन

झझल्कोले आँखाहरु धेरै रसाए
चाड बाड्मा यस्पाली रमाउन पाइेन

सम्झे होलान आफन्तले हरपल मलाई
आशिषको जमरा समाउन पाइेन

(अमेरिका )

गजल


बसन्त मोहन अधिकारी

मलाई जस्तै तिम्लाई पनि मुटु दुखी राको होला ।
यो रातभरी बिछौनामा जलन सधै छाको होला ।

चार्डपर्व दशैं तिहार घर गाउँमा र्छाई दिदाँ
सगै साथ बसी मनाउँदाको झझल्को आको होला ।

बाटो भरी हिडीराका पर्राईहरुको जोडी देख्दाँ
तिम्लाई पनि सगैं माईत हिड्न मन लाको होला ।

फुलपातीमा मार हानी घरमा बोका ढाल्दा खेरी
छोरा च्यापी मलाई सम्झी त्यो मासुभात खाको होला ।

यो यौवनको रापले पोली, दिनरात जलाउँदा
मेरो प्राण ! प्रदेशबाट कैले आउँछ भाको होला ।

आमा


उषा गिरी

आमा आज म त्यसै त्यसै तडपी रहेछु
खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा
दु:ख को भयानक महासागरहरुमा
कहाली लागिरहेछ असह्य पिडाका पुकारहरु देखेर।
आमा,आज म भाबुक बनी तिम्रो न्यानो छातीमा
टोलाई रहेछु सन्कल्प आधी र बतास बनी उडिरहेछन
चिसो सिरेटो बनेर।
आमा,घाउ ब्यथा बनेर भुतलमा उदास बगरहरुमा
नैरस्य को तक्मा बाडिरहेछन बिबेकहिन बुज्रुकहरु।
आमा आज म नारी हुनुको पिडा
भोगिरहेछु,जीबित अनुभब गरिरहेछु
सान्त्वना का स्तब्ध दुई शब्द रोइरहेछु।
आमा आज म प्राक्रिती को पोखरिमा
तिम्रो छिया छिया स्वरुप देख्ता मेरा इन्द्रिएहरु
त्रिसुलझै तिखारिन्छन,बिबेक सुन्य हुन्छु,
आमा तिम्रै समीपमा समर्पण
सुनगाबा सहित दुई शब्द।

घर देश-चारपाने झापा
परदेश-बेल्जियम

सिमानाहरु


दिलिप योन्जन

सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ
खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ
टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ
उठ है उठ युवाहरु हो, देशको मुहार फेर्नु छ।

सन्धि र सम्झौतामा, मेरो देशको माटो हराइरहेछ
कहिले कोशी कहिले गन्डकी, पटक2 बिक्री भइरहेछ
मेरो देशमा बिदेशीको हावी, दिन दिनै बड्दो छ
उठ है उठ राष्ट्रप्रमी हो, फेरि वीरता देखाउनु छ
उठ है उठ युवाहरु हो, सन्धि र सम्झौतामा फेर्नु छ।

हिमालमा हिउँ रहिन्जेल, एक थोपा रगत भइन्जेल
झुक्ने छैनन् यी हातहरु, गोली हाने नि भालाले रोपे नि
माटो नै रङाउनेछु रगतले, झुक्दैन कहिले मेरो शिर
उठ है उठ देशभक्तहरु, एक जुट हुनु छ देशका सक्तिहरु
उठ है उठ युवाहरु हो, राष्ट्र र राष्ट्रियता बचाउनु छ।

अस्टिन, अमेरिका