गणतान्त्रिक धुन


टंक सम्वाहाम्फे

आजभोलि गणतान्त्रिक धुन
निरन्तर वजिरहेछ
हामी त्यहि धुन सुनेर
खुशीयाली मनाईरहेछौ
यी धुनहरुसंगै
अरु धुनहरु पनि वज्न थालेकाछन्
र तालहरु पनि फेरिन थालेकाछन्
त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन्
धुनहरुमा विभिन्नता देखिन थालेकाछन्
यसरी हामीहरु आआफ्नै धुनमा
खुशीयाली मनाईरहेछौ

कोही भन्छन्
राजाको अवशान पछि
संघीय गणतन्त्रको धुन बजेको हो
कोही भन्छन् दशवर्षे जनयुद्घले
कोही भन्छन् बाह्रवर्षे प्रजातान्त्रिक अभ्यासले
कोही भन्छन् आम नेपालीको चाहानाले
जेसुकै भएपनि गणतन्त्रको धुन
आजभोलि निरन्तर वजिरहेछ
माथि देखि तलसम्मकाले
यो धुन बजाईरहेकाछौ
अथवा त्यसको उपभोग गरिरहेछौ
त्यसैले त अनेकौ धुनहरु सुनिरहेकाछौ
अव कुन धुनलाई कसरी सुन्ने होला ?
किनकी कसैका धुनहरु मिल्दैनन्
थरिथरिकाछन्
कसैका तालहरु मिल्दैनन्
परिपरिकाछन्
यहाँ मात्र आआफ्नै धुनहरु बजिरहेकाछन्
सवैको एउटै धुन बन्न सकेको छैन
सवैको एउटै ताल हुन सकेको छैन
तर यो गणतन्त्रको धुनमा
नाच्नेहरु आआफ्नै तालमा नाचेकाछन्
कोही हर्षे नाचेकाछन्
कोही विस्मतले नाचेकाछन्
धुनहरु बज्न थालेपछि
सवैलाई आआफ्नै तालले नाच्न मन लाग्छ
यो गणतान्त्रिक धुन हो
त्यसकारण धुनको समान अधिकार छ
सायद त्यसैले होला मान्छेहरु
कोहि राष्ट्रिय धुनमा छन्
कोहि अन्तर्राष्ट्रिय धुनमा छन्
कोहि संघीय धुनमा छन्
कोहि क्षेत्रीय धुनमा छन्
कोहि जातीय धुनमा छन्
कोही छुट्टै राज्यको धुनमा छन्
जे होस् गणतान्त्रिक धुनलाई
सवैले सुनेर उपयोग गरिरहेछन्
भोलि यो धुन कसरी वज्दै जाने हो
थाहा छैन
तर धुनले हरेक दिन उचाई लिदैछ
स्थायित्व कायम गर्दैछ
त्यसैले त धुनहरुसंग
समूह देख्न थालिएका छन्
मण्डली भेट्न थालिएका छन्
तर यहाँ अझै पनि मान्छेहरु
कति शास्त्रिय धुनमाछन्
कति आधुनिक धुनमाछन्
कति उत्तरआधुनिक धुनमाछन्
यर्सथ सवै नेपालीहरु आआफ्नै धुनमा छन्
सवै नेपालीहरु आआफ्नै तालमा छन्
कसैले कसैका धुन सुनेका छैनन्
कसैले कसैका ताल बुझेका छैनन्
मात्र गणतान्त्रिक धुन बजिरहेछ
सत्ताकालाई सत्ताको धुन बजिरहेछ
पदकालाई पदको धुन बजिरहेछ
तर जनताहरुलाई भने
महङ्गी ,गरिवीको धुन बजिरहेछ
चोरी,डकैती,हत्या,अपहरणको धुन बजिरहेछ
यथार्थमा असुरक्षाको धुन बजिरहेछ

एउटै देशका भिन्नभिन्नै धुनहरु
एउटै देशका वेग्लावेग्लै तालहरु
गणतान्त्रिक धुनसँग मिसीएर
निरन्तर वजिरहेकाछन्
कतै चर्को कतै मधुरो बजेकाछन्
कतै मधुरो कतै चर्को सुनिएकाछन्
तर धुनहरु सवैतिर बजिरहेकैछन्
वास्तवमा सत्ताका धुनहरु
तल धेरै सुनिएकाछन्
जनताका धुनहरु माथि थोरै मात्र सुनिएका छन्
यहाँ गणतान्त्रिक धुन यसरी नै गुन्जिरहेछ

हामी सवैले सुनिरहेकाछौ गणतान्त्रिक धुन
मज्जैले सुनिरहेकाछौ
त्यहि धुन सुनेर
खुशीयालीको मनाईरहेकाछौ
तर यो धुन
अव कहिले सम्म बज्ने हो थाहा छैन
तै पनि हरेकले धुनको आशा गरेकाछन्
तै पनि हरेकले धुनको भरोसा गरेकाछन्
किनकी यो धुन युगौंपछि
गुन्जेको मौलिक धुन हो
त्यसैले धुनसँग हरेकको जिवन गुन्जिनु पर्छ
त्यसैले धुनसँग हरेकको विचार समेटिनु पर्छ
किनभने यहि धुनको लागि
धेरैले रगत वगाएकाछन्
धेरैले पसीना पोखाएकाछन्
धेरैले सिंदूर पुछेकाछन्
धेरैले आफन्त गुमाएकाछन्
तसर्थ गणतान्त्रिक धुन मात्र धुन वन्नु हुदैन
देशको धुन वन्नु पर्छ
विकासको धुन वन्नु पर्छ
शहिदको सपनाको धुन वन्नु पर्छ
समग्रमा नेपाली जनतालाई सम्वोधन गर्ने धुन वन्नु पर्छ

1 comment:

kavitakusum said...

कविज्यूको कविता यथार्थ परक छ । कवितामा वर्तमान नेपालको शाब्दिक चित्रण राम्ररी गरिएको छ । कविताले बोलेको भाषा नेपालले भोग्दैआएको कटु तर सत्य भाषा हो । यस ब्लगका पाठक शायद नेपाल बाहिर रहने भएकाले यथार्थसंग सरोकार नभएर कविताको भाकाले उहाँहरुको मुटु नछोएको हो कि जस्तो छ ! धूनहरुसंगै खुशियालीको उपस्थिति छ तर कवि चेतनाले जे खतरा देखेको छ त्यो सत्य हो । गणतान्त्रिक धूनहरु बज्नु स्वभाविक हो तर धूनहरु र्सार्थक, शान्तिप्रति समर्पित र अनेकतालाई एकतामा परिणत गर्ने महान र शहीदका सपना साकार पार्ने मंगल धून बन्नुपर्छ भन्नु कविको स्पष्ट विचारसहितको कवि चेतना युगसापेक्ष छ ।
भानेन्द्र सम्वाहाम्फे