अन्तिम युद्धको उज्यालो बिहान


टंक वनेम

लर्के बैँस
बारुदको गन्धमा मुछ्दै
छोएर युनियन ज्याक झण्डा
कबोलेर तेतिसकोटी देउदेउता
भाकेर पातालको सिमे भुमे
कसम खाएर सत्यबाचा
अब
दाग्नु पर्छ सत्रुको छाती
थाप्नु पर्छ गोलीको निशाना
कि जित्नु पर्छ युद्ध संग्राम
कि हार्नु पर्छ मृत्यु वरण गरेर
टुग्याँउदै जीवनको
अन्तिम अध्याय ।
उर्फ-
कति सस्तो छ हगि -
लाहुरे जीवन
हाट बजारमा किन्ने
सौदा जस्तो
मानौं
काँचको चुरा फुटे झैं
विश्वासै नलाग्दो
युद्ध मैदानको बहादुरी
लाहुरे मृत्यु ।
त्यही समपर्ण मृत्युलाई
निल्न नसकेर
युद्धको भोको भोकले
इराकको मरुभूमि र
फकल्याण्डको टापुले
शकुशल फर्कायो

थमथम हिँडी रहेछ
अर्को युद्ध लड्नलाई ।
बन्दुकको कैदबाट
उम्के पछि पो
काँध गह्रौ हुन थालेको छ
छ्या ! कति बोक्नु हँ ?
दुइ शताब्दीको दासता
बिसाउँछु अब दासताको भारी

पुछ्छु खलखलती
बगेको पसिना
र माग्छु
पसिनाको मुल्य
रगतको इतिहास
इमान्दारीको कदर
बफादारीको इन्साफ
बीरता र
आहुतिको फैसला ।
हिज जसरी
सत्रुको किल्ला तोडियो
उसरी नैं
अन्याय बिरुद्ध
बिगबेलको ढोका ढक्ढकाउँदै
रेगिस्थानले उबारेको पसिना
युद्ध कलमको मसी बनाउँदै
उद्घोष गरौं
रगतको मुल्य माग्न
बलिदान भएका
बीर पूर्खाका नली हाड फुकेर
अघारी होइनौं हामी
अन्याय बिरुद्धको
दुन्दुभी हो यो ।
खुकुरीको धार अर्जापे झैं
शक्तिको धार अर्जापेर
असमनता बिरुद्धको
कुरुक्षेत्र लडाइमा
पड्काउँ बुद्धिको बन्दुक
थापौं समानताको एम्बुस
राखेर कानुनको धरापहरु

गरौं अन्याय बिरुद्धको लडाइ ।
नुमाफुङ -
त्यही युद्ध लड्दै छु यतिखेर
बाजेले तरेको युफ्रेटस नदी
बाबुले लडेको काचीन बस्ति
र पसिना बगेको नेमलेस हिल
ति सप्पै सप्पैको हिसाब माग्दै
इतिहासको तमसुक च्यातेर
हो शब्द शब्दमा
गोली पड्काई रहेछु
बारुदका धूवाँहरु पुत्पुताई रहेछ
संगिनको साउती
खनखनाई रहेछ
संम्झ-
यो भौतिक लडाइ भन्दा
फरक लडाइ हो
आजको लागि बीर पुर्खाहरुले
उनीहरुको हिज चढाए झैं
यो मसीको युद्धमा
यो अन्याय बिरुद्ध
कलम बन्दुक बनाएर
ढयाङ् ....ढयाङ् .... पड्काई रहेछु
जुगाँमुठे गुरुजीहरुले सिकाएको
माक्समेनसिप् प्रिन्सिपल अपलाउँदै
अन्यायको टाउको गेड्न
अन्यायको छाती फोरेर
समानताको टाँचा लगाउन ।
हो नुमाफुङ-
त्यही युद्ध संग्राममा ब्यास्त छु
मृत्यु वरणको खबर सुन्यौ भने
यिनै कविताका कागजहरुले
ढाक्नु-
मेरो स्मृतिमा बनाएको चौतारो
फेदाङ्मा र नाक्चोङहरुले
फलाकुन मुन्धुम्को श्रद्धाञ्जली
त्यही चौतारो माथि
रोप्नु एउटा बर
रोप्नु एउटा पिपल
त्यही बर पिपल माथि
र्चिरबिराउने छन् चराहरु
रातो सूर्य उदाउने छ
प्रत्येक बिहान
संम्झ -
त्यो रातो सूर्य उही लाहुरे हो
अन्यायका ति
अध्यारो रातहरुलाई भगाउने
उज्यालो बिहान ।

No comments: