नयाँ वर्ष अनि नयाँ सँकेत


गोपीकृष्ण प्रसाई

नयाँ वर्ष २०६५ आएछ
फेरि मनमा एउटा नयाँ तरङ्ग छाएछ
तर तरङ्ग मात्र होइन
परिवर्तनको लहर वढेपछि
जन भावनाहरु मनमा गढेपछि
अप्रतिम चाहनाहरु आज नाचिरहेछन्
बिशाल रुपरेखा मन अनि मेरा साथीहरु
नयाँ संविधानभित्र हाँसिरहेछन्
परिवर्तनसंगै बहकिने मनहरु
समयको गतिसंगै परिवर्तीत तनहरु
मन र मस्तिष्कको शुभकामना
भावना र आस्थाको शुभकामना

आज नयाँ वर्षमा देशको पनि नयाँ खबर छ
उत्साह बोकी हिड्छन् साथीहरु
हातहरु सुनौलो क्षितिज भेट्न सल्बलाईरहेछन्
मनहरु नयाँ दिशाबोधमा कल्कलाईरहेछन्
संविधान कोर्ने नयाँ नयाँ हातहरु होलान्
संविधानको वृहत भवसागरमा सबैले आफ्नो मन धोलान्
त्यसैले यो नयाँ बर्ष एउटा फरक सुरुआत
अनि बिकासको रंग वोकेर
हिमाल,तराई अनि पहाडतिर
शान्तिको बिकुल फुकेर
आएको मैले देखे
कलमहरु खुल्लैछन्
अनि खुल्ला पुस्तकहरु
बाटाभरि मैले धेरै आशाहरु भेटेँ

नयाँ बर्षमा हामी नयाँ सम्विधान खोजौँ
युद्ध अनि उतारचढावले बढी थाकेकाछौँ हामी
त्यसरी हाम्रा भावनाहरु पनि थाकेका होलान्
आकासमा शान्तिका परेवाहरु उडिरहेछन्
प्रगतिपथमा कुदेको छ विश्व
त्यही कतै उन्नतिको शिखरलाई अव खोजौँ

अव यो क्षितिजमा अनिश्चयको वादल देखिनु हुन्न
एकपल्ट लेखिए पछि
संविधान पनि वारम्वार लेखिनु हुन्न
चुनावै चुनावका श्रृँखलाहरु बोकेर
क्रान्ति नै क्रान्तिका फिलुंगाहरु देखेर
मनहरु पनि वारम्वार उद्वेलित हुनुहुन्न
बिकासको बाटो अनि स्वतन्त्रताको सम्मान गर्न सिकौँ सबैले
दाशताको जंजीर बोकेर अव कोही पनि रुनु हुन्न
त्यसैले जनमतको उभारभित्र
नेपाल आमाको मुहारभित्र
वि.सं.२०६५ हाँसेको मैले देखेँ
यो हाँसोभित्र आशाका गोरेटाहरु पनि भेटेँ
यिनै गोरेटाहरु भोलि देशका ठुला ठुला राजमार्गहरु बन्न सकुन्
यिनै गोरेटाहरुले भावी सन्ततिहरुलाई आफ्नो देशको इतिहास भन्न सकुन्

त्यसैले स्वागत छ हे नयाँ बर्ष
मनभरि बोकी उल्लास अनि हर्ष
हामी त अहिले लण्डनमा नयाँ बर्ष मनाईरहेछौँ
आफ्ना भावनाहरु चुनावी माहौलमा खन्याईरहेछौँ
नयाँ बर्षंसंगै अव नयाँ आयामहरु लेखिनुपर्छ
नयाँ आयामको परिणाम पनि तत्कालै देखिनुपर्छ
नेपाल र नेपाली राष्ट्रियताको पहिचान
सवै स्वाभिमानी नेपालीको मन
यस संविधान सभामै समेटिनु पर्छ ।

१४ अप्रिल २००८
हाल - लण्डन यू.के.

No comments: