अन्धो छ इश्वर आज पनि


शिव प्रकाश

बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापञ्जा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधन-दुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लाक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु
नाङ्गो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरिह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।
दुन्दुभि कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पनि
नदेखेको इश्वर,
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।
इश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ इश्वर !
कि इश्वरभित्र भ्रम छ
कि भ्रमभित्र इश्वर !
कि बाँचेर पनि
अन्धो छ इश्वर आज पनि ।
बोस्टन, अमेरिका

No comments: