गजल


समृद्धि "सायद"

हृदयको बास मीठो कि मनको अत्यास
नभेटिएकालाई मिलन मीठो कि प्यास

धड्कन्छ होला मुटु पनि रफ्तारमा आज
सुनेपछि शब्दशब्द मीठो कि उच्छवास

नभेटिएको राम्रो भन्थे नपाउने कुरालाई
मेरो थियो भन्नु भ्रम मीठो कि विश्वास

कस्तो अभरमा परेछ जीन्दगी भन्ठान्छु
मनको एकोहोरो ढिपी मीठो कि खग्रास

"शायद" हृदय नटुक्रिदो हो त मपनि
रोज्थे हुँली विछोड मीठो कि सहवास
कोटेश्वर काठमाडौं

2 comments:

Alwar Bhaiya "Bulbul" said...

I liked it very much. I've never expected Seemu ki tapai yeti mitho ghazal lekhna jaanne bhaisaknu vayo. Aru dherai yestai ghazal haru lekhnu hola.
(Sabadahru ko samyojan ra bhaab ko gahiraai ekdam raamro mileko chha.)

Mero Subhakamana !!!
Achyut Ghimire

Rupesh Silwal said...

'सायद' जी, गजल राम्रो लाग्यो। म पनि गजलका पारखीहरुमा पर्दछु। हुन त गजलका संरचना र स्वरुपहरुका बारेमा त्यस्तो धेरै अध्ययन त मैले गरेको छैन तर पनि गजल सुन्नु र पढ्नु मेरो साप्ताहिकचर्या नै बनेको छ। तपाईंको गजलले मलाई मोहित पारेको छ।

कुनै समय थियो जब मीनभवन, शंकरदेव, आर.आर. लगायतका क्याम्पस हरुमा नेपालभरबाट जम्मा भएका प्रतिभाशाली किशोर-किशोरीहरु आफ्नो गजल प्रस्तुत गर्थे। म हरेक ठाउँ मा पुग्ने प्रयास गर्थे। त्यहाँ नवोदित गजलकारहरुका गजलमा प्रतिस्पर्धा नै हुन्थ्यो। साधारण हलमा भेला भएका असाधारण प्रतिभाहरुका माझ धुरन्धार मनिएका पाको उमेरका गजलकारहरुले पनि कुनै बेला त मुख लुकाउनु पर्थ्यो- स्तरियताको आधारमा। तर त्यो परम्परालाई पनि नेपालको 'खुट्टातान्ने' संक्रामक रोगले छोयो र गतिशिलता पाउन सकेन। तत्कालिन समयका मुर्धन्य युवा गजलकारहरु अहिले यतै पश्चिमा देशहरुमा हण्डर खाएर दु:खका दिन बिताएको देख्दा उदेग लागेर आउँछ। सुनेको छु, नेपालका कलेज र शैक्षिक संस्थाहरुमा आज पनि गजल वाचनका कार्यक्रमहरु हुन्छन रे। तर, नेपाल भन्दा धेरै टाढा बसेका हामीहरुले सुन्न पाउदैनौ। मुलप्रवाहको राजनीतिमै केन्द्रित हुन चाहने संचार जगतलाई के थाहा गजल कस्तो उत्पादन हो भनेर। जहाँ सुर्य पुग्दैन त्यहाँ कविहरु पुग्छन, जहाँ कविहरुनै पुगदैनन त्यहाँ गजलकारहरु पुगेका छन। जस्तै:
हृदयको बास मीठो कि मनको अत्यास
नभेटिएकालाई मिलन मीठो कि प्यास