रामप्रसाद पन्त
आमाको प्रतिविम्व हेर्न मलाई
आमाको तस्वीर हरिरहनु पर्दैन
मस्तिष्कको द्वार उघारेपछि
देखिन्छ आमाको स्पष्ट चित्र ।
सुनको टिकी, वुलाकी र नत्थी
कानविटेमुन्द्रा, ढुङग्री र मडवारी
अनि, मेला पर्वहरुमा लगाउने
सिर्फल, रैयाँ, कल्ली र वालाहरु
आभूषण थिए मेरी आमाका ।
मलाई अलि अलि सम्झना छ
छिटको गुन्यू र फाइवरको फरिया
टोपेलको चोलो र सन्फराइटको उत्तरीया
तर, युग वदलियो
रुप वदलियो
कालान्तरमा तिनको ।
मेरी आमाका यी परिधानहरु
रहेनन् पछिल्ला दिनहरुमा ।
अहिले म झलझली देख्दैछु ,
धोती चोलो पहिरेर
वारदैलीमा वसेको
पात गाँसेको र वत्ती कातेको
कहिले आउँछन् छोराछोरी भनेर
पर परसम्म नजर दौडाएको ।
नेती सर्काएर, मधानी घर्काएर
दही मथेर, नौनी निकालेर
मेरो हातमा थपक्क राखिदिने ,
तात्तातो दूध कुँडेबाट उघाएर
सिलटको बटुकोमा खनाइदिने
म रुँदा मि स्री दिएर भुलाइदिने
चोटपटक लाग्दा मलम लगाइदिने
काखमा लिएर सहस्र माया बर्साइदिने
र, एकादेशका कथाहरु कथेर
निद्रादेवी जगाइदिने
ती मेरी आमा
मेरो अन्तर्चक्षुले
अहिले पनि स्पष्टै देखिनुहुन्छ ।
अचम्म लाग्छ मलाई
आमाको स्मरणशक्ति देखेर
साँच्चैनै कम्प्यूटर हुनुहुन्थ्यो मेरी आमा
क्याल्कुलेटर हुनुहुन्थ्यो मेरी आमा
क्यालेण्डर हुनुहुन्थ्यो मेरी आमा
जन्मकुण्डली र पात्रो हुनुहुन्थ्यो मेरी आमा
कुन साल, कुन बार, कति गते र समयमा
जन्मिएका हुन् गाँउलेका छोराछोरीहरु
ठ्याक्ठ्याक्ती भनिदिनुहुन्थ्यो मेरी आमा ।
मलाई हिजो जस्तै लाग्छ
दशैमा टीका लगाएर आशीर्वाद दिएको
तिहारमा सेल पकाएर खुवाएको
वारीको डिलमा अगेनो खनेर
आँपझोत्तेको चामल
र, भोटेकेराउ कोसाको तरकारी पकाएर
अचार र गोरसका विविध परिकारहरु जुटाएर
खाजा (वनभोज) खुवाएको ।
अहिले मेरी आमा हुनुहुन्न
तर
मेरा घरमा अझ पनि सकुशल छन्
मेरी आमालाई सम्झाउने सामग्रीहरु
मेरी आमाले सोमरेका
मेरी आमाले जतन गरिराखेका
हर्पे, चौठे, धुपौरो र थुर्मीहरु
कोर्को, बोक्चो, थुन्से र मधुसहरु
धार्नी, विसौली र माना पाथीहरु
चरेसका थाल र काँसका कचौराहरु ,
मलाई लाग्छ ती सामानहरु
मेरो नातीको पालासम्म
पुरातात्विक वन्ने छन्
र, सम्भवतः सङ्ग्रालयमा मात्र भेटिने छन् ।
अहिले म सहर वजार गर्दा देख्नेगर्छु
मेरी आमाकै अनुहारका
मेरी आमाकै आकारका
धेरै आमाहरु
विनालौरो ठमठमी हिँड्ने
बोलेको अलि कम सुन्ने
पातलो दुव्लो शरीर भएका
ती आमाहरु देख्दा
सोध्न मन लाग्छ
आमा ∕
आमा ∕ मलाई चिन्नुभएन ?
No comments:
Post a Comment