लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट


टंक सम्वाहाम्फे

लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट
यो वाटो
खुलेको आजै हो
हिजोसम्म हामीले निर्वाध हिड्न पाउँने
यो वाटोलाई
मिचिएको थियो क्रुरताले
रोपीएको थियो संगीनले
छोपीएको थियो हिंसाले
त्यसैले चाहेर पनि
हिड्न सकेनौ यो वाटोमा
र पुग्न सकेनौ गन्तब्यहरुमा
यसरी निरिहताका शिकार भएर
सहिरहयौ अन्याय अत्याचार
सदियौं सम्म
किनकी षड्यान्त्र विरुद्घमा
हामी एकजुट हुन सकेका थिएनौ
तर ढिलै भएपनि
सुनामी छाल वनेर उर्लिदिदा
परिवर्तीत भएको छ इतिहास
तोडीएकाछन् पुराना छेकवारहरु
चुडीएकाछन् कुसंस्कारका साङलाहरु
त्यसैले त यो वाटो
निर्वन्ध भएकोछ
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

यदि हामीले ती पर्खालहरु
हिजै भत्काउँन सकेको भए
हिजै नाघ्न सकेको भए
यो यात्रा
निक्कै टाढा पुगी सक्थ्यो
तर यो वाटो युगौ देखि
वाधिएको थियो दासत्वले
जेलिएको थियो आतङ्कले
थिचिएको थियो कुसंस्कारले
त्यसैले यी पर्खालहरु नाघ्न
हामीले के सहेनौ
हत्या वलत्कार अपहरण
यातना प्रताडना जेलनेल
सहनु पर्ने सवै सह्यौ
खप्नु पर्ने सवै खप्यौ
तर हाम्रा वाटाहरु खुलेनन्
त्यसै ज्वालामुखी झै
ताता विचारका लाभाहरु लिएर
विस्फोटित भई दियौ
तव हाम्रा वाटाहरु हाम्रै भए
अहिले हामी हाम्रै वाटामा छौ
अहिले हामी चाहेको वाटामा छौ
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

यो वाटोको लागि
जव हामीले अधिकार खोज्दै गयौं
तव वाटो छेक्ने तगाराहरुले
खित्का छोड्दै हाँसे र भने
अव यति नै हो तिमीहरुको यात्रा
अव यति नै हो तिमीहरुको भाग्य
अव यति नै हो तिमीहरुको जिवन
त्यसवेला हामी
अधिकार माग्नु भन्दा
खोस्न हतारिएका थियौं
अजेय शक्तिको हतियारले
त्यो तिनीहरुलाई थाहा थिएन
अन्तत ती सवै वडारिए
अन्तत ती सवै नासीए
हाम्रो अग्नि जस्तै शक्तिपुञ्जले
त्यसैले यो वाटोमा हिड्न
अव कुनै व्यवधान छैन
तिमी हामी सवै हिड्न सक्छौ
ठुलो सानो सवै हिड्न पाउँछौ
आआफ्नै पाईलाले हिड्न सक्छौ
स्वतन्त्रता पूर्ण उपयोग गर्न सक्छौ
किनकी यो वाटोमा
हाम्रो पूर्खादेखि अहिले सम्मको
रगतको खोला वगेको छ
त्यसैले यो वाटो सवैको हो
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

सदियौ देखि वन्द रहेका
यी ढोकाहरु खुलेकाछन्
भर्खरै खुलेको यो नयाँ वाटो हो
त्यसैले हामी यो वाटोका नयाँ यात्री हौं
यहाँ नयाँ दृश्यहरु देखिरहेकाछौ
यहाँ नयाँ कुराहरु छोईरहेकाछौ
यहाँ नयाँ परिस्थिती भोगीरहेकाछौ
जस्ले नयाँ अनुभव वटुलीरहेछौ
तर पनि यो नयाँ वाटो हो
यहाँ चुनौतिहरु हुनसक्छन्
यहाँ जोखिमहरु आउँन सक्छन्
अनेकौ वाधाका पहाडहरु उभिन सक्छन्
यर्सथ ती सवै अड्चनहरुको सामना गर्दै
यात्राहरु अगाडी वढाउँदै लैजानु
हाम्रो दायित्व हो
हामीले यस्तै चुनौतिहरु चाहेका थियौ
हामीले यस्तै खतराहरु मोल्न खोजेका थियौ
आज यथार्थता भएर
उभिदिएको छ
तर हामी सुरक्षित यात्राको
तयारीमा जुटेकाछौ
त्यसैले यो वाटोमा
निशन्देह,निर्भय भएर
स्वतन्त्र भएर हिडे हुन्छ हरेकले
आआफ्नै अस्तित्व जोह गरे हुन्छ हरेकले
आआफ्नै विचारको घर वनाए हुन्छ हरेकले
आआफ्नै अधिकार सदुपयोग गरे हुन्छ हरेकले
किनकी हामी सवैले वनाएको
साझा वाटो हो
लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

No comments: