कुकुरहरुको विजयगान


मोहन दुवाल

कुकुरहरु पुच्छर हल्लाउदै
चोक चोकमा देखा परिरहेछन्
हड्डी फालिउको छ यताउता जताततै
र्‍याल चुहाउँदै घम्साघम्सी गर्दैछन्-
आज चोकभरि देखापरेका कुकुरहरु .......

उनिहरु मिलेर पटक्कै खान जान्दैनन्
त्यसैले त उनीहरु टोकाटोक गर्दै जिइरहेछन्
दुर्गती यस्तैगरी भोग्छन्, एक आपसमा कलह रोपेर
हिजोजस्तै आज पनि उनीहरु मारामार गर्दैछन् -
यसरी नै भोग्छन् कष्टहरु कस्ता अभागी कुकुरहरु..........

सुँध्न जानेका, मालिकका तावेदार गर्न सिकेका
कुकुरहरु समय मिलाएर पुच्छर हल्लाउँछन्
अरुभन्दा निकै माहिर छन् उनिहरु
इस्पात भन्दा कडा दाँतहरु बोकेर आज पनि -
हिजोजस्तै हड्डीकै लुछाचुँडी गर्दैछन् कुकुरहरु........

दासहरुजस्तै नियति भोग्छन्-कुकुरहरु
बाँधिएका कैदीहरुझैं चुपचाप छन्-कुकुरहरु
मिलेर कहिल्यै बस्न नजान्ने उनीहरु
आज पनि टोकाटोक गर्दैछन् आफू आफूमा-
हड्डी ठिङ्ग बाँकी छ चोकमा तर भोक सुँध्दैछन् कुकुरहरु.......

समूह समूहमा विभक्त भएर विजयगान गाउँदैछन् उनीहरु
आफ्नै नारा र भाषामा विचार सुनाउँदैछन् उनीहरु
बलियोले नै साम्राज्य चलाउन पाइने संविधान कल्पेर उनीहरु
बिभाजनमा रमाउँदै आज विजयगान गाउँदैछन् चर्को स्वरमा
घाम छक्क पर्दै प्रकाश बाँड्दैछन् र हेर्दैछन् कुकुरहरु..........
बनेपा, काभ्र्रे

1 comment:

Sandra said...

A sweet hello to you~