फेरि पनि एकलब्बेको औंला काटियो भने !


लिलिमहाङ

मैले सुनेको महाभारतको कथामा
धनुवाँणका एउटा बहादुर
जसको एउटै व्यथा थियो
उसलाई जातीय कारणबाट
धनुवाँणको शिक्षा लिन गुरुबाट अस्वीकार गरियो

जुन कथामा अर्जुन जस्तो
महावीरको पनि उपस्थिति थियो
एकलब्बेले आफ्नै परिश्रमले
अर्जुनकै गुरुको मूर्ति बनाएर
धेरै धेरै अभ्यास गर्दै स्वयम् शिक्षा लियो
अन्तमा अर्जुनलाई पनि धनुविद्यामा जितिदियो

गुरुलाई असाध्येय असहृय भयो
किनभने एकलब्बे अर्कै जाति थियो
निपुणतामा अर्जुनभन्दा माथि चढ्यो
क्षेत्रीय गौरवता तल झर्‍यो
राजवंशमा ठूलो चोट पर्‍यो

धनुवाँणको चमत्कारी खेलमा अर्जुनको हार भयो
गुरुदक्षिणा भनेर दोर्णाचार्यले
एकलब्बेको बुढिऔंठा नै काटेर लियो
उनले पनि चुपचाप नै काट्न दियो
के थाहा त्यो निमुखा एकल्ब्बेलाई
त्यो त दोर्णाचार्यको एउटा षड्यन्त्र थियो

पाखण्डको महाभारत सुनेपछि
मेरो मुटु धनुवाँण भएको छ
सोझैमात्र सोच्ने मेरा दिमागहरु काँण बनेको छ
सेलाईसकेका घाउहरु फेरि बल्झीएको छ
इतिहासको त्यान्द्रो धागोबाट
दुराचारीहरु जलाउने आगो सल्किएको छ

त्यसैले खबरदार छ मेरो तीनिहरुलाई
किनभने मेरा नशानदीहरुमा
एकलब्बे सल्वलाउन थालेको छ
अब उनी चेतनाको धनुवाँण लिएर
यहिभूमिमा जन्म लिने छन्
अब उनले धनुवाँणको शिक्षा लिन
हस्तेनापुर जानु पर्ने छैन
उनको गुरु उनको नै कुलको हुनेछ
फेरि पनि उनको औंला काटियो भने
पाखण्डि दोर्णाचार्य निर्दोष सावित भएर बाँच्ने छैनन् ।

No comments: