म भूल हुँ


आचार्य प्रभा

म भूल हुँ सुधारन सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /

(अमेरिका )

No comments: