मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट


प्रवीण राई जुमेली

सधैं त मान्छे मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ मान्छे बाँच्यो
नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘खुशी’ भन्थ्यो ‘रे मर्नअघि
नीलो आकाशलाई हेरेर त झन् सासै चुँडिन गाह्रो भो ‘रे
मर्दै गर्दा त्योसित एकान्तको साथ थियो ‘रे
मान्छे मर्नलाई त एउटा चट्टान मनग्गे
छुरीको एउटा प्रहार नै मनग्गे
तर गीतबाट भाका नचुँडी
रुखबाट हरियो नखोसिई
कहाँ मर्छ र मन
समयले भन्थ्यो ‘रे हामी खोला सुकेको देख्छौं
सधैंको एउटा आवाज हराएको देख्तैनौ
हामी सुन्छौं ज्ञान बजेको खित्काहरु
तरलताको रुदनहरु सुन्दैनौ
समयले भन्थ्यो ‘रे
कति सुटुक्क मरयो त्यो समयकै षडयन्त्रमा
कसैको मुटुले देख्नै भ्याएन
मलामीको रमिता भर्न र विषादको काँध दिन पाएन कसैले
हिप्पोक्रेसी गन्हाउने फूलहरु नै चडाउन आएन
कुनै आस्थाको नेता
रहरको सूचीमा पनि चडेन
रमाहटको केही राहत राशी
समवेदना बाँझिन थालेछ अहो
मनको चिहानमाथि बनमारा उम्रिन थालेछ॥

No comments: