फूलहरुलाई शुभकामना


खगेन्द्र थापा

ऊ, लालीगुराँस झैँ फुल्थी भिरपाखाहरुमा
वहार भई डुल्थी सधैँजसो लोभी आँखाहरुमा
उसको रुपको वर्णन सुन्दा न कसैलाई झर्को लाग्थ्यो
रस चुस्न आत्तुर भमराहरुको सधैँ नै लर्को लाग्थ्यो
सुवास छर्दै ढकमक्क फुलेको देखेर सबै झुम्मिन्थे
त्यसैमा ऊ पनि रमाउँथी
आफ्नो वैशालु जोवनको पर्वाह नै नगरी
ऊ, आफ्नो यौवन अरुलाई निःस्वार्थ थमाउँथी ।
उसको तनका डाँडाकाँडा र थुम्कामा रम्दै
आँकुरा कोपिला र पुष्पपत्रहुदिँ न्यानो स्पर्शका साथ
रस चुस्दैचुस्दै खोँचसम्म पुग्दा ऊ निकै लजाउँथी
मदहोश भई विशाल पोखरीमा हामफाल्दा भमरा
ऊ, भित्रभित्रै सुखानुभूति सजाउँथी
तर
वसन्त नै वैरी भइदिए पछि कस्को के लाग्दो रैछ र ?
आखिर भाँचिएको मनमा उमङ्ग कसरी जाग्दो रैछ र ?
अचेल अनर्थ लाग्छ उसलाई
आफ्नो सुन्दरता, सुवास र शालीनता प्रति
ढकमक्क फुलेर पनि वास्ना र्छन सक्तिन ऊ
कतै कुनै भमराहरुको मन हर्न सक्तिन ऊ
किनकि आज उसको सिउँदो पुछिएको छ
चुरा फुटेका छन्, यौवन लुटिएको छ
त्यसैले,
मेरो बिन्ती छ, कहिले गर्नु नपरोस्
सयपत्री र मखमलीले जिन्दगीमा यस्तो सामना
सधैँ ढकमक्क फुलेर वास्ना छरिरहुन्
फूलहरुलाई मेरो लाखौँलाख शुभ कामना ।

No comments: