सत्य बोल्ने गल्ति गरेकोमा अकरनामा


प्रविन रार्इ जुमेली

मैले भनेकै थिएँ, समयको स्याल अति नै धूर्त छ
त्यसले यी ससाना बालक उपक्रमहरुलाई
लीला अर्थ्याइदिएको छ
भनेको थिएँ अझ, यो उचाइको आकाश पनि बित्था हो
हाम्रो अहँकार र गर्वका सगरमाथाहरु सबै
चकनाचुर बनाउनेछ एकदिन बित्नुको आँधी-बेह्रीले
तर भ्रमका पाहुनाहरु मानेनन्
उनीहरुले यो मिथ्याको सपनालाई नै साँचो भने
मेरो सत्यको झूट सुन्न रुचाँउदा रहेछन् पाहुनाहरु
हामी आफ्नो गीतसित रुँदा हाँस्दा रहेछन् पाहुनाहरु
समयकै उकील पात्रहरु र दोषी पात्रहरु
मलाई घेरेर उभिएका छन्
म मेरो कलमको प्रत्येक घर्षणसितै घट्दै गइरहन्छु
लेखिरहन्छु असत्यको कचहरीमा उभेर यो अकरनामा
यो कस्तो आधुनिकृत मल्टीप्लेक्स हो
जहाँ असत्य काया छ सत्य छाँया छ
कस्तो हो यो सपना/विपनाको सिनेमा
भोक जहाँ अशेष छ आत्मा पराया छ
मिथ्या, सत्य, गीत र प्रश्नहरु पनि
माया नै गन्छ तर सृष्टिको वैरागीले
भनें, म भुलिइनु पनि यसरी भ्रम नै है
भ्रम नै यी तमाम लोली-बोलीहरु
मान्दैनन् तर उनीहरु मेरा कुरा
लाग्छ यो नमान्नु पनि खेल नै मायाको
लेख्ने उपक्रम यो अकरनामा पनि खेल नैसत्य/
असत्य सबै खेल यो समय-छाँयाको॥

No comments: